डोल्पा- डोल्पाको ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीका दुईवटा डोजरमा आगजनी भएको छ ।
नगरपालिकाको केन्द्र जुफालबाट वडा नं ५ र ६ जोड्ने सडक खन्ने क्रममा जुफाल र लहाराको बीचको जङ्गलमा भे १ क ४६३६ र भे १ क १२९४ नंका दुईवटै डोजरमाथि अज्ञात समूहद्वारा आगजनी गरिएको प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए ।
घटना विषयमा स्थानीयवासीसँग बुझ्दा शनिबार साँझ ७:३० बजेसम्म सकुसल भएको र बिहानमात्रै आगजनी भएको पाइएको डाँगीको भनाइ छ ।
घटना कसले कसरी घटायो अझै पत्ता नलागेको भन्दै उनले आफ्नो नेतृत्वमा प्रहरी घटनास्थलमा पुगिसकेकाले अनुसन्धान सुरु गरिएको बताए ।
आगजनीबाट दुईवटै डोजर पूर्णरूपमा क्षति भएको बताइएको छ । दुईवटै डोजर मौसम एण्ड हरिष निर्माण सेवाको नाममा रहेको प्रहरीले जनाएको छ ।
आफू काठमाडौं भएको र घटनाका विषयमा फोनबाट जानकारी पाएको नगरप्रमुख शाहीले बताए । प्रहरी घटनास्थलमा पुगिसकेको र अहिले ठ्याक्कै कसैमाथि शङ्का नभएको शाहीको भनाइ छ ।