कोरोनाविरुद्धको ८ लाख मात्रा चिनियाँ खोप काठमाडौं ल्याइयो-Sutra News

कोरोनाविरुद्धको ८ लाख मात्रा चिनियाँ खोप काठमाडौं ल्याइयो

सोमबार, १६ चैत्र २०७७

सोमबार, १६ चैत्र २०७७

काठमाडौं- चीनबाट कोरोनाविरुद्धको ८ लाख मात्रा खोप सोमबार बिहान नेपाल ल्याइएको छ ।



खोप लिन आइतबार अपराह्न बेइजिङ गएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी–३३० विमान खोपसहित आज बिहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो ।

चीन सरकारले खोप अनुदानमा दिए पनि ढुवानी भने नेपाल सरकारकै खर्चमा भएको हो ।

चीनको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स कम्पनी लिमिटेड (बीआईबीपी), सिनोफार्मले उत्पादन गरेको ‘सिनोभ्याक’ खोप नेपाल ल्याइएको हो ।

यसअघि चीनले ३ लाख मात्रा खोप अनुदानमा दिने घोषणा गरेको थियो । पछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रहमा चीनका विदेशमन्त्री वाङ यीले थप ५ लाख मात्रा खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।

अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको ‘कोभिसिल्ड’ खोपपछि सिनोभ्याकले नेपालमा आपत्‌कालीन प्रयोगका लागि अनुमति पाएको थियो । नेपालमा औषधिको लागि नियामक निकाय औषधि व्यवस्था विभागले यो खोपलाई प्रयोग गर्न ससर्त अनुमति दिएको थियो ।

उत्पादन कम्पनीका अनुसार यो खोप पहिलो मात्रा लगाएको एक महिनाभित्रै दोस्रो मात्रा लगाउनुपर्छ  । १८ देखि ६० वर्ष उमेर समूहका व्यक्तिलाई मात्रै दिन मिल्छ ।

राष्ट्रिय खोप सल्लाहकार समितिको सुझावअनुसार स्वास्थ्य मन्त्रालयले यो खोप शिक्षक, यातायात व्यवसायी, चालक, औद्योगिक मजदुरलगायत पेसागत समूहका व्यक्तिलाई लगाउने तयारी गरेको छ । यसबारे अन्तिम निर्णय भने भइसकेको छैन ।

यसअघि २३ लाख ४८ हजार मात्रा खोप नेपाल भित्रिइसकेको छ । भारतबाट अनुदान र खरिद गरी २० लाख तथा कोभाक्स सुविधाअन्तर्गत ३ लाख ४८ हजार खोप आएको हो ।

नेपालसँगको सम्झौताअनुसार भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले पठाउनुपर्ने बाँकी १० लाख मात्रा कोभिसिल्ड खोप आगामी अप्रिल दोस्रो सातासम्म आइपुग्ने बताइएको छ । नेपालमा हालसम्म झन्डै १७ लाख जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट