ओलीपीडित प्रचण्डका दु:ख-Sutra News

ओलीपीडित प्रचण्डका दु:ख

सोमबार, १६ चैत्र २०७७

सोमबार, १६ चैत्र २०७७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक रुपमा अझ शक्तिशाली बन्दै जाँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झन् पीडित र दुखी बन्दै गएका छन्।
राजनीतिक रुपमा ओलीलाई तह लगाउनका लागि तत्कालिन नेकपामा बहुमतको निर्णय गराउँदै अघि बढ्दा सर्वोच्च अदालतको एउटा फैसलाले प्रचण्डलाई प्रताडित बन्न बाध्य पारिदियो।



प्रतिनिधि सभा विघटनपछि भएका सभामा उनले सर्वोच्च अदालत, निर्वाचन आयोगलगायतलाई मञ्चबाट नै धम्की दिएका थिए। उनले भनेका थिए,‘निर्वाचन आयोग, चाल गतिलो छैन। न्यायाधीशहरू विवेक पुगोस्। होइन भने सबैभन्दा ठूलो फैसला जनताको अदालतले गर्नेछ।’ त्यसबेला उक्त मुद्दामा संवैधानिक इजलाशमा बहस चलिरहेको थियो। प्रचण्डले अदालतको मानाहानी गरेको भनी रिट समेत दायर भएको थियो। प्रतिनिधि सभा पुनःस्थापना भएपछि प्रचण्ड खुसी भए, उनको मिशन पूरा हुनेतिर लागेको ठाने।

तर २३ फागुनमा सर्वोच्च अदालतको अर्को फैसलाले भने प्रचण्डलाई नउठ्नेगरी राजनीतिक रुपमा पछारिदियो। नेकपा भन्ने पार्टी नै अवैधानिक रहेको ठहर गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदियो।
‘त्यहि फैसलाले प्रतिनिधि सभामा प्रधानमन्त्री ओली शक्तिशाली नेताका रुपमा स्थापित भए। उनी ठूलो दल एमालेको अध्यक्षमात्र होइन, आगामी राजनीतिक खेलमा पनि अग्रपंक्तिमा स्पष्ट रुपमा देखा परेका छन्’,

जानकारहरू भन्छन्,‘अब अहिले प्रचण्डलाई धर्म संकट परेको छ। त्यसैले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छैनन्।’ओलीसँग सहकार्य गर्नका लागि अहिले जनता समाजवादी पार्टी सक्रिय भएको छ। त्यसका पनि बलिया रहेका अध्यक्ष महन्थ ठाकुर विभिन्न मुद्दाका विषयमा ओलीसँग निरन्तर वार्तामा छन्। यसले प्रचण्डलाई राजनीतिक रुपमा अझ प्रताडित बनाउनेछ।

नेपाली कांग्रेसले सरकार बनाउने सक्रियता नदेखाएपछि जसपाको समर्थनमा ओलीको सरकार टिकेको खण्डमा प्रचण्ड प्रमुख प्रतिपक्षी दलको नेतासम्म पनि नहुने स्थिति आउनेछ। ‘राजनीतिक रुपमा जसरी पनि शक्तिमा रहनुपर्छ भन्ने प्रचण्डको अहम् तोडिदैछ, त्यसैले उनी दुखी छन्’, स्रोतले भन्यो।

उनले आफ्नो पीडा नागरिक आन्दोलनले गरेको बहसका क्रममा पनि सुनाए। जहाँ जसपा अध्यक्ष ठाकुर, माधवकुमार नेपाल र प्रचण्ड थिए। नागरिकले नै उनीहरूलाई विविध प्रकारले प्रश्न मात्र गरेनन्, आएका विषयबस्तुमा व्यंग्यात्मक कटाक्ष पनि भए।

prachanda - madhav nepal.jpg

प्रचण्डले ओलीइतरको सरकार बनाउनका लागि सहकार्यको प्रस्ताव गर्दै बालुवाटार धाएर पीडित नहुन ठाकुरलाई आग्रह गरेका थिए। ठाकुर र आफू उस्तै पीडित रहेको भन्दै ओलीको विकल्पमा सरकार बनाउनका लागि गठबन्धनको प्रस्ताव प्रचण्डले गरेका थिए। तर ठाकुरले प्रतिप्रश्न गरेर प्रचण्डलाई खुत्रुक्कै बनाइदिए। उनले सोधेका थिए,‘सरकारलाई अहिलेसम्म समर्थन तपाई गर्ने अनि दोष हामीलाई दिने? हामी त सरकारमा जो छ त्यहिसँग न आफ्ना मुद्दा र माग राख्छौं।’

शान्ति प्रक्रियायताका डेढ दशक प्रचण्ड कुनै न कुनै रुपमा राजनीतिक केन्द्रविन्दुमा उभिएका थिए। उनकै वरिपरि मात्रै सत्ताको चाबी र समीकरण बन्दै आएको थियो। तर ओलीको उदयसँगै प्रचण्डको राजनीतिक केन्द्रीयता खोसिएको स्पष्ट चित्र देखिएको छ।

‘प्रचण्ड नेकपा बनाएर अझ शक्तिशाली बन्ने दाउमा थिए। ओलीसँग मिलेर माधव नेपालहरूलाई कर्नरमा पार्न खोजेकै थिए। फेरि नेपालहरूसँग मिलेर ओलीलाई पदच्युत नै बनाउने खेलमा लागे’, स्रोतले भन्यो,‘नभिड्नुपर्ने पात्रसँग उनले जोरी खोजेपछि अहिले कमजोर बनेका छन्।’

एक हिसाबले प्रचण्डले भुइँको टिप्न खोज्दा पोल्टाको समेत गुमाएको टिप्पणी हुन थालेको छ। खासगरी रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापालगायतका विभिन्न नेता ओलीसँग जोडिएका छन्। तर ओलीसँग रहेका माधवकुमार नेपाल पक्षलाई भने प्रचण्डसँग जोडिन नैतिक संकट छ।

‘एमाले विभाजन हुने सम्भावना कम देखिन्छ। गुटगत काम त पहिलादेखि पनि भएका थिए तर संघर्ष चल्छ पार्टी विभाजन हुँदैन’, स्रोतले भन्यो,‘तर प्रचण्डको पार्टी त बारम्बार विभाजन भएको थियो। फेरि एमालेमा एउटा कित्ता नै मिसियो।’

अहिलेको राजनीतिक उतारचढाव र खेलमा प्रचण्ड ओलीपीडित देखिएका छन्।

यो भिडियो पनि हेर्नुस

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट