काठमाडौं- जनमत पार्टीका अध्यक्ष सीके राउतलाई ३५ दिनभित्र उपस्थित हुन नवलपरासी जिल्ला अदालतले म्याद दिएको छ ।
गोरखापत्रमा सोमबार सूचना प्रकाशित गर्दै अदालतले राज्यविरुद्धको संगठित अपराध मुद्दामा आफ्नो पक्षका सबुत प्रमाणसहित उपस्थित हुन भनिएको छ ।
पक्राउ पूर्जीसहितको म्याद जारी गरिएकोमा घर नभेटिएको भन्दै उनलाई ३५ दिनभित्र उपस्थित हुन अदालतले भनेको हो ।
मधेसलाई छुट्टै देश बनाउने योजनासहित पृथक्तावादी अभियान चलाएका राउत २०७५ फागुन २४ मा सरकारसँगको सहमतिपछि मूलधारको राजनीतिमा आएका थिए ।
सरकारसँगको सहमतिमा उनीसहित उनको समूहमा लागेका व्यक्तिहरुविरुद्धको मुद्दा फिर्ता लिने प्रक्रिया अगाडि बढाउने भनिएको थियो ।
तर मुलुकका विभिन्न अदालतमा अझै पनि उनीहरुविरुद्धका मुद्दा विचाराधीन छन् ।