ओलीले नेपाललाई चोट दिँदा यसकारण दंगदास छन् सीपी मैनाली-Sutra News

ओलीले नेपाललाई चोट दिँदा यसकारण दंगदास छन् सीपी मैनाली

मंगलबार, १७ चैत्र २०७७

मंगलबार, १७ चैत्र २०७७

काठमाडौं- नेकपा एमाले नेता माधवकुमार नेपालले पठाएको स्पष्टीकरणपत्र चित्त नबुझेपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिना पार्टी साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेका छन् ।



उनीसँगै ओलीविरुद्ध खरो उत्रिने गरेका उपाध्यक्ष भीम रावललाई पनि सोही निर्णय गरिएको छ । जबकि, उक्त निर्णय आधिकारिक नहुने भन्दै नेपाल समूहले जिल्ला तहसम्म एमालेभित्र भाँडभैलो मच्चाउन सुरु गरेका छन् ।

जिल्ला-जिल्लामा एमालेका समानान्तर कमिटी गठनका क्रम सुरु भइसकेका छन् । वरिष्ठ नेता झलनाथ खनालले त ओलीको कारबाहीले रौं पनि नहल्लिने प्रतिक्रिया दिएका छन् । यो कारबाहीपछि एमाले लगभग विभाजन भइसकेको अवस्थामा छ भने सबैभन्दा ठूलो चोट नेता नेपाललाई परेको छ ।

नेपाललाई कारबाही गर्दा स्वभाविक रूपमा ओली पक्षमा हर्ष छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग मिलेर ओलीलाई कारबाही गर्न अग्रसर भएका नेपालप्रति एउटा इगो नै थियो, ओली पक्षधरका कार्यकर्तामा ।

त्यसबेला विभाजित भएर सडकमा सभा गर्दा ओलीका पक्षमा उभिनेले नेपाल पक्षसँग निरन्तर भिडिरहेका थिए । एमालेभित्र जनवर्गीय संगठनदेखि सबैतिर समानान्तर कमिटी गठन, राष्ट्रिय भेलालगायत भइरहेका छन् । यो विवाद अब जिल्ला तहसम्म पनि पुगेको छ ।

तर, नेपाललाई कारबाही गर्दा राजनीतिक साख उतिसाह्रो नभए पनि नेकपा मालेका महासचिव सीपी मैनाली निक्कै खुसी छन् । उनले लिन नसकेको प्रतिशोध ओलीले लिएका कारण उनको हर्ष बढेको हो ।

‘एमालेमा महासचिव हुँदा आफू विरोधीलाई तह लगाउन माधव नेपालले धेरैका राजनीतिक भविष्य चुँडाए, कतिपय साथीहरू त कम्युनिस्ट राजनीतिबाट पलायन नै भए’, मैनालीले भनेका छन्,‘मलाई पनि गुट भेला गरेर कारबाहीको निर्णय सुनाउने यीनै थिए, यीनलाई ओलीले चाँडोभन्दा चाँडो कारबाही गर्नुपर्छ ।’

बहुमतका नाममा पार्टीको प्रमुख पदमा रहेका व्यक्तिलाई हटाउने नेपालको पुरानै चरित्र रहेको मैनालीको ठहर छ । उनले आफैंमाथि नेपालले त्यस्तो अन्याय गरी महासचिव पदबाट हटाएको स्मरण गरेका छन् ।

त्यतिमात्र होइन, कार्की ब्याङक्वेटबाट प्रचण्डसँगको सहकार्यमा बहुमत केन्द्रीय सदस्यको निर्णयका नाममा नेपालले ओलीलाई पार्टी अध्यक्ष, साधारण सदस्य समेतबाट हटाएका थिए ।

अहिले ओलीले स्पष्टीकरण सोध्दै छ महिना एमालेबाट निलम्बन गरेका नेपालले पाएको चोटमा सबैभन्दा बढी खुसी सीपी मैनाली नै छन्, किनकी उनले भनेका थिए- नेपाललाई कारबाही गर्न ओलीले किन ढिला गरेको ?

नेपाल युरोपियन र विदेशीहरूबाट पालिएका पोसिएका नेताका रूपमा स्थापित भएको विवरण पनि सतहमा आएका थिए । कुनैबेला नेपालले राजा वीरेन्द्रलाई पनि भारतको सहयोगमा ठिक लगाउनुपर्छ भनी लविङ गरेको भन्ने उक्ति चर्चामा छ ।

नेपाल पदबिना बस्नै नसक्ने व्यक्ति भएका उनका समकालिन सहकर्मी बताउँछन् । यस्तो भनक नेकपा विवादका क्रममा पनि नेपालले दिएका थिए ।

पहिलो संविधानसभामा हार व्यहोरेका उनी संवैधानिक समितिको सभापति हुन गए तर प्रचण्डलाई हटाएर प्रधानमन्त्री पदमा पुगे ।  त्यसअघि तत्कालिन राजा ज्ञानेन्द्र कहाँ प्रधानमन्त्रीका लागि दरखास्त हालेको चर्चा स्वयम् प्रधानमन्त्री ओलीले गरेका थिए ।
उनले भनेका थिए,‘दरबारमा दरखास्त हाल्नका लागि म कहिल्यै गएको छैन । को गएको थियो ? दुनियाँले देखेको छैन र ?’

एमाले नवौं महाधिवेशनमा पराजय भोगेका उनी नेकपा एकीकरणपछि भने ओलीलाई पाखा लगाउने अनेक कसरतमा रहेको बताइन्छ । उनी प्रचण्डसँग मिलेर ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउनका लागि सक्रिय रहेका थिए ।

फलतः ओलीलाई ती दुवै पदबाट हटाएको घोषणा पनि गरे। एक नेता भन्छन्,‘अदालतले ओलीको राजनीति जोगाएपछि नेपाललाई स्पष्टिकरण किन नसोध्नु ? जवाफ पनि उल्टै स्पष्टीकरण हुन्छ ?’

एमालेलाई विभाजनबाट जोगाउनका निम्ति अन्तिम पटक केही साताअघि धुम्बाराहीमा ओली-नेपालबीच वार्ता भएको थियो । त्यसक्रममा गल्ती स्वीकार्ने भन्दा पनि दम्भ देखाएको भन्दै महासचिव ईश्वर पोखरेलले भनेका थिए, ‘पार्टीमा गल्ती सच्याएर आउँदा स्वागत थियो तर किन दम्भ ?’

एमालेको सतहसम्म नै समानान्तर गतिविधि सुरु भए पनि नेपाललाई कारबाहीको निर्णय गर्ने हिम्मत देखाउने ओलीप्रति मैनाली भने खुसी छन् । मैनालीलाई अघिल्लो प्रधानमन्त्रीत्वकालमा ओलीले क्याबिनेटको उपप्रधानमन्त्री बनाएका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट