काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने हो कि भन्ने आशंका पैदा भएको टिप्पणी गरेका छन् ।
मंगलबार रिपोर्टस क्लबको २३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो टिप्पणी गरेका हुन् ।
लामो संघर्षपछि प्राप्त उपलब्धिहरुमाथि ग्रहण लागेको आभाष भएको उनको भनाइ छ ।
उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको महत्वपूर्ण उपलब्धि हो । कता न कता, संघीयता, समावेशीतामाथि ग्रहण लागेको हो कि भन्ने आभाष भएको छ ।’
नेपालमा संघीयता भएपनि त्यसको कार्यान्वयन हुन नसकेको उनले बताए । भएका कुरा पनि केन्द्रीकृत भएको उनको गुनासो छ ।
उनले भने, ‘देशमा संघीयता संस्थागत हुन्छ, देश समृद्धितर्फ अघि बढ्छ भन्ने लागेको थियो । मुलुक अगाडि बढ्छ भन्ने लागेको थियो । नेपालीले अब संघर्ष गर्नु नपर्ने हो कि भन्ने आशा थियो। तर त्यस्तो देखिएन ।’
देशको अहिलेको अवस्था हेर्दा चिन्तित हुनुपर्ने अवस्था आएको उनले बताए ।