काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले नेपालको राजनीति धमिल्याएको आरोप लगाएका छन् । रिपोर्टर्स क्लबको वार्षिक उत्सव कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै ओलीले यो देश प्रचण्डकै कारण देशमा समस्या परेको बताएका हुन् ।
‘एकाध मान्छेको तीव्र महत्वाकांक्षा छ, देश बनाउने उद्देश्य छैन, पदको स्वार्थ भएका मान्छेको कारण समस्या भएको छ’, प्रचण्डको नामै किटेर ओलीले थपे, ‘केही मान्छेहरुले देशको राजनीतिलाई धमिल्याउन खोजे । के यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थको सती जानुपर्ने हो ?’
उनले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको दाबी गरे । ‘सरकार पूर्ण रुपमा प्रेस, वाक् स्वतन्त्रतालगायत अन्य स्वतन्त्रताको पक्षमा दृढताका साथ खडा छ’, उनले भने । तर प्रेस कति मर्यादित र कति सभ्य भएको छ, दूरगामी भएर हेर्नुपर्ने उनले बताए ।