काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धी उल्ट्याउन कोसिस गर्नेविरुद्ध सशक्त प्रतिवाद गर्ने बताएका छन् ।
परिवर्तनको प्रक्रियालाई मन नपराउनेहरूले जनताको बलिदानबाट स्थापित गणतन्त्र, सङ्घीयता, समावेशी र समानुपातिक उपलब्धी उल्ट्याउने र देशलाई अराजकतामा धकेल्ने षड्यन्त्र भइरहेको उनको भनाइ छ ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज २० औँ जेलब्रेक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ठूलो सङ्घर्षका साथ स्थापित समावेशी, समानुपातिक प्रतिनिधित्वलाई खण्डित गर्ने प्रयासविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिए ।
गत पुस ५ गते भएको प्रतिनिधिसभा विघटन सामान्य परिघटना नभएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले परिवर्तन नचाहने प्रवृत्तिले गडबडी गरेको स्पष्ट पारे ।
एकजुट भएर जनताबीचमा जाँदा जस्तोसुकै षड्यन्त्रलाई पराजित गर्न सकिन्छ भन्ने तथ्य पछिल्ला दिनमा स्थापित गरिएको जानकारी दिँदै अध्यक्ष दाहालले भने, ‘यतिबेला पनि हामीले शान्तिपूर्ण रुपमा जनयुद्ध नै गरिरहेका छौँ । हामी अझै एक ढिक्का भएर आन्दोलनमा गयौँ भने जनविरोधी प्रवृत्तिलाई परास्त गर्न सक्छौँ ।’
संविधान, लोकतन्त्र, समावेशी र समानुपातिक प्रतिनिधित्वको रक्षाका लागि पुनः एकपटक सङ्घर्ष जरुरी रहेको भन्दै अध्यक्ष दाहालले यतिबेला पनि परिवर्तन चाहने र नचाहनेका बीचमा सङ्घर्ष जारी रहेको बताए ।