कसले सिध्याउँदैछ प्रचण्डको राजनीतिक जीवन?-Sutra News

कसले सिध्याउँदैछ प्रचण्डको राजनीतिक जीवन?

बुधबार, १८ चैत्र २०७७

बुधबार, १८ चैत्र २०७७

काठमाडौं- भारतविरुद्ध सुरुङ युद्धको घोषणा गरी माओवादी आन्दोलन र युद्धलाई उचाईमा पुराएका पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक जोखिम देखेपछि नयाँ दिल्लीमा १२ बुँदे समझदारीमा हस्ताक्षर गरे।



माओवादी आन्दोलन र शान्ति प्रक्रियाको ‘जस’ लिन कहिँ न कहिँ भारतले आफूलाई उभ्याएका कारण नयाँ दिल्लीमा तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपालसहितलाई राखेर सम्झौता भयो।

त्यसबीचमा भारतले प्रचण्ड र डा. बाबुराम भट्टराईलाई पनाहा दिएको थियो। तत्कालिन विदेश सचिव श्याम शरणले पनि यो विषयमा पुस्तकमा उल्लेख गरेका छन्। प्रचण्डलाई भारतसँग नजिक बनाएर नेपालमा चिनियाँ हस्तक्षेप र दरबारलाई कमजोर बनाउन सफलता मिलेको श्यामशरणले उल्लेख गरेका छन्।

तर जब पहिलो संविधानसभामा माओवादी बाढी जसरी चुनावी मैदानमा जितेर आयो, संसदीय राजनीतिमा पाइला चालेका प्रचण्डले आफूलाई शक्तिशाली ठाने। उनी प्रधानमन्त्री त भए तर नेपाली सेनालाई चलाउने गल्ती गरे। उनले भारतीय पक्षसँग समन्वय पनि गरेनन् र नयाँ हाँकमा राजनीतिलाई अगाडि बढाउन प्रयत्न गरे।

नौ महिनामा नै उनको सरकार गिर्यो र सडकमा आउनु परेको थियो। सडक आन्दोलन पनि तुह्यो। त्यहिँदेखि सुरु भयो प्रचण्डको राजनीतिक जीवनको ओरालो यात्रा।
दोस्रो संविधानसभाबाट संविधान जारी गराउन पनि उनी सक्रिय भए। त्यसबेला भारतविरोधी भावनाको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेका थिए। प्रचण्डको जोडबल थियो। उनले खुलामञ्चमा भने,‘हामीले त्यस्तो के गल्ती गरेका थियौं र नाकाबन्दी लगाइयो?’

कम्युनिस्ट बहुमतको सरकार बनेपछि त्यसलाई गिराउन भारतीय संस्थापन सक्रिय भयो। अर्को नौ महिनामा प्रचण्डलाई हातमा लिएर कांग्रेससँगको सहकार्यमा सरकार बनाउन भारतीय पक्ष सफल भयो। ऊ, नेपालमा भारतविरोधी भावना चहाँदैन थियो।

‘प्रचण्ड तेस्रो दल र कि फ्याक्टर भएकाले ओलीविरुद्धको प्रयोगमा भारतका लागि अर्को विकल्प थिएन। ओली भारतसँग नजिक हुने पक्षमा थिएनन्। वास्तवमा उनी राष्ट्रवादी नेताका रुपमा स्थापित भएका थिए’, उच्च स्रोतले भन्यो।

आम चुनावबाट गठजोड हुँदै एमाले र माओवादीको झन्डै दुई तिहाई बहुमत आएपछि भारत तर्सियो। नेपालमा कम्युनिस्टको सत्ता लामो जाने मात्र होइन, चीनको खुला राजनीतिमा सक्रियतालाई तोड्नु उसको अनिवार्यता थियो। ‘नेपालमा कम्युनिस्टको बहुमत आयो, चीन हावी भयो’, भारतीय मिडियाले बारम्बार भनिरहेका थिए।

पहिलो चरणमा त्यसलाई तोड्नका लागि प्रचण्डलाई कांग्रेससँग मिलेर सरकार बनाउन लविङ गरियो। त्यसैक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले ५ बर्ष लेखेरै प्रधानमन्त्री दिने प्रस्ताव गरे। यस विषयमा कांग्रेस सांसद अमरेश सिंहले भनेका छन्,‘भारतविरोधी सरकार बनाउन भन्दा कांग्रेससँग मिलेर सरकार बनेको चहान्थ्यो दक्षिण छिमेकी। म र कृष्ण सिटौलाले यो प्रस्ताव लिएर गएका थियौं।’

प्रचण्डले मानेनन्। त्यहिँदेखि सुरु भयो उनको ओरालो यात्रा। विभिन्न चरणमा उनलाई नेकपा विभाजनका लागि भारतीय पक्षले बारम्बार प्रस्ताव गरे, उनले अनेक प्रयत्न गरेका थिए तर सक्षम भएनन्।
सोही बेला ओलीले भनेका थिए,‘हाम्रा केही नेताहरु भारतसँग मिलेर सरकार गिराउन चहान्छन्। पार्टी फुटाउन चहान्छन्।’

प्रचण्डलाई निरन्तर ताकेता भइरहेपछि उनले नेकपा सचिवालयमा बहुमत पुराएर विभाजन वा ओलीलाई पार्टीमा निस्क्रिय बनाउने रणनीति र अभ्यास जारी राखे, जसको परिणाम नेकपा विभाजनसम्मको अवस्थामा पुग्यो।
तर, प्रचण्ड सक्षम नभएको र ओलीको सत्ता पनि कमजोर अवस्थामा रहेपछि भारतीय पक्षले रणनीति फेरिदियो। ‘अब प्रचण्डबाट काम नचल्ने भयो भन्ने भएपछि ओलीबाट नेपालको कम्युनिस्ट आन्दोलन र शक्ति क्षतविक्षत गराउने रणनीति लिइयो’, स्रोतले भन्यो,‘त्यसैको पृष्ठभूमीमा आएका थिए रअ प्रमुख सामन्त गोयल।’

जनाधार पनि कमजोर रहेका प्रचण्डलाई राजनीतिक केन्द्रविन्दुबाट लखेट्नका लागि खासगरी भारतीय संस्थापन पक्ष अहिले कम्मर कसेर लागि परेको छ। नेपालको कम्युनिस्ट आन्दोलनलाई लाखापाखा लगाउनका निम्ति सबैभन्दा पहिला प्रचण्डलाई कमजोर बनाउनुपर्ने ठहरअनुसारै विविध रणनीतिक योजना सुरु भएका हुन्।

पहिलो चरणमा प्रचण्डलाई प्रयोग गर्न चाहेको उसले पटक–पटक धोका पाएपछि पछिल्लो पटक भने ओलीमार्फत प्रचण्डको राजनीतिक ग्राउन्ड सिध्याउने र एमाले विभाजन गरी कम्युनिस्ट विरासतलाई ध्वस्त पार्ने खेल अगाडि बढाएको उच्च स्रोतको दाबी छ।

‘कसरी राजनीतिक जीवनलाई अप्ठेरोमा पारिएको छ भन्ने प्रचण्डलाई थाहा छ। त्यसैले उनी अहिले पनि आन्दोलन र जनयुद्धको हाँकको भाषण दिइरहेका छन्’, स्रोतले भन्यो,‘मर्न पनि तयार हुनुपर्छ भन्नुको अर्थ राजनीतिक शक्ति आर्जनका निम्ति उनी कुनै एउटा मार्गलाई खोल्न चाहिरहेका छन्।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट