काठमाडौं- सत्तारुढ नेकपा एमालेकी सचेतक शान्ता चौधरीले जनतामा जाने कुरा कसरी प्रतिगमन र संविधान विपरीत हुन्छ भनेर प्रतिनिधिसभा बैठकमा प्रश्न गरेकी छन् ।
असंवैधानिक रूपमा पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फागुन ११ गतेको फैसलाबाट पुनर्थापित भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जानु सही भएको भनिरहेका बेला एमालेकी सचेतकले पनि सोही प्रश्न संसद्मा उठाएकी हुन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा चौधरीले भनिन्, ‘जनताको बीचमा जाने कुरा असंवैधानिक हुन्छ र सभामुख महोदय ? जनतामा जाने कुरा प्रतिगमन हुन्छ र महोदय ?’
प्रधानमन्त्रीले असंवैधानिक कदम नचालेको दाबी गरेकी चौधरीले चालेको भए पनि त्यसरी असंवैधानिक कदम चाल्न बाध्य पार्ने को थियो भन्ने प्रश्न उठाएकी थिइन् । ‘असंवैधानिक कदम चाल्न बाध्य बनाउनेहरूलाई जनताले, देशले देखिरहेको छ,’ उनको भनाइ थियो ।
संसद्मा सभ्य भाषा बोल्न र सरकारका राम्रा कामको प्रसंसा गर्न पनि सचेतक चौधरीले आग्रह गरेकी थिइन् । उनले भनिन्, ‘सरकारले गरेका राम्रा कामका पक्षमा पनि बोल्नुपर्यो नि ! विरोध मात्रै गर्ने कि सरकारले गरेका राम्रा कामका पक्षमा पनि गर्ने ?’
सरकारले गरेका राम्रा कामको पनि विरोध गर्ने कि ? भनेर चौधरीले प्रश्न गरिन्, ‘मेलम्ची पानी तीन दशकपछि काठमाडौंमा प्रवेश गरेको छ, यसको पनि विरोध गर्ने कि ? मुलुक सुरुङ युगमा प्रवेश गरेको छ, यसको पनि विरोध गर्ने कि ? भूकम्पमा ढलेका घर ठडिएका छन् यसको पनि विरोध गर्ने कि ?’
मुलुकमा वर्तमान सरकारको पालामा धेरै पुल बनेको, पानीजहाज चलेको र सबै पालिकाहरूमा अस्पताल पुगेको बताएकी चौधरीले विद्रोही शक्तिलाई वार्ताको टेबुलमार्फत शान्तिको बाटोमा ल्याएको कामको सत्तापक्ष र प्रतिपक्षले प्रसंशा गर्नुपर्ने बताइन् ।