काठमाडौँ – पार्टीभित्र समानान्तर कमिटी बनाएर अन्तर संघर्ष गर्ने बताएको माधव नेपाल पक्षले अलग्गै पार्टी कार्यालय खोल्ने भएको छ।
बुधबार आफूपक्षीय युवा संघको केन्द्रीय कार्यालय उद्घाटन गर्दै हालै निलम्बनमा परेका नेता माधवकुमार नेपालले नयाँ केन्द्रीय कार्यालय खोज्ने काम भइरहेको बताएका हुन्।
‘हाम्रो पनि भवनको खोजी जारी छ । कतै राम्रो ठाउँ पाउनुभए खबर गर्नुहोला, त्यो भन्दा (थापाथलीको) पनि ठूलो र शानदार भवन हामीलाई चाहिन्छ । हामी धन्यवाद नै भन्ने छौं सहयोगका लागि’, नेता नेपालले भने।
सो कार्यक्रममा कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाइने भन्दै सबै जिल्लासम्म संगठन विस्तार गर्न नेपालले निर्देशन दिए। उनले सबै जनसंगठनहरुमा नयाँ नेतृत्वसहित कार्यालय सन्चालन गर्नुपर्ने बताएका छन्।
माधव नेपालनिकट नेता जगन्नाथ खतिवडाले पार्टी केन्द्रीय कार्यालयको लागि ठाउँ खोज्ने क्रम चलिरहेको बताए ।
हालै नेकपा एमालेले धुम्वाराहीमा रहेको पार्टीको कार्यालयलाई थापाथली हाइटमा सार्ने निर्णय गरेको थियो।
नयाँ पार्टी कार्यलय खोल्ने नेता नेपालको घोषणाले नेकपा एमालले भित्र समामान्तर कमिटी संचालन सुरू भएको छ। यसले पार्टीलाई औपचारिक विभाजनतर्फ डोर्याएको छ।