काठमाडौं- नेकपा एमालेबाट ६ महिनाका लागि निलम्बित भएका नेता घनश्याम भुसालले एमालेको अध्यक्ष भएर केपी ओलीले बर्बादी गरेको भन्दै त्यसका लागि दुनियासँग माफी माग्ने बताएका छन् ।
आफूमाथिको कारबाहीपछि प्रतिक्रिया दिदै भुसालले ओलीले लोकतन्त्रको हुर्मत लिएको र त्यो अपूरणीय रहेको भन्दै ओलीको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गर्ने बताएका छन् ।
भुसालले भनेका छन्- हामी उनका ताण्डवलाई पराजित गरेर लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौं । मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादीका लागि मैले दुनियाँसँग माफी माग्छु ।
भुसालले ओलीमा असिमित सत्ताभोगको अतृप्त तृष्णले म र मेरो बाहेक केही नदेख्ने बनाएको र आफू बस्न नपाउने कुर्सी भाँचिदिने जीवन दर्शन रहेको आरोप समेत लगाएका छन् ।