काठमाडौं- नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले छलछामको राजनीतिको आयु छोटो हुने बताएकी छन् ।
बिहीबार राति सामाजिक संजालमार्फत झाँक्रीले जसले पार्टी बनायो उसैलाई कारबाही गरिएको भन्दै आक्रोश व्यक्त गरेकी हुन् ।
ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष डा. भीम रावल तथा स्थायी कमिटी सदस्यहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेपछि नेपाल पक्ष थप आक्रोशित बनेको छ ।
उनले लेखेकी छन्, ‘षड्यन्त्र, तिगडम र छलछामको राजनीति, पार्टी एकतादेखि एकता भंगसम्म आयो । यी सबै नक्कली र निश्चित स्वार्थका लागि थिए । फेरि जसले पार्टी बनायो उसैलाई कारबाही ? साधुलाई सुली र चोरलाई चौतारो स्वीकार्य छैन । कसैको बुई चढेर जे गरिदैछ त्यो गलत गरिँदैछ। हेक्का राखौं–बुई चढ्ने लड्छ । र, षडयन्त्र, तिगडम र छलछामको राजनीतिक आयु छोटो हुन्छ ।’