एमाले विभाजन गरी कता जाँदैछन् माधव नेपाल, यस्तो छ रणनीति-Sutra News

एमाले विभाजन गरी कता जाँदैछन् माधव नेपाल, यस्तो छ रणनीति

शुक्रबार, २० चैत्र २०७७

शुक्रबार, २० चैत्र २०७७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाही गरेका एमाले बरिष्ठ नेता माधवकुमार नेपालले एमाले विभाजन गर्ने भएका छन्। एमाले विभाजन गरी नयाँ पार्टी दर्ता गर्ने र अन्य कम्युनिस्ट पार्टीहरूसँग एकता तथा सहकार्यको हात अगाडि बढाउने उनको रणनीति रहेको छ।



आगामी चुनावअघि नै एमालेलाई विभाजन गर्नका लागि उनले माथिदेखि तलसम्म समानान्तर कमिटी गठनको अभियानालाई तिव्रता दिएका हुन्। विभाजन हुँदा नेता मात्र होइन, तल्लो तहसम्म नै ओलीलाई धक्का दिने अभ्यास नेपाल समूहले गरेको हो।

नेपालसहित भिम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई एमाले अध्यक्ष ओलीले ६ महिनाका लागि निलम्बित गरेपछि एमालेभित्रको विभाजनको यात्राले गति पाएको हो। सर्वोच्च अदालतले दुई पार्टी ब्युँताएपछि तत्कालिन नेपाल कम्युनिस्ट पार्टीभित्र रहेको आन्तरिक विवाद र कलह नेपाल समूहसँगै एमालेमा स्थानान्तरण भएको हो।

‘माधवकुमार नेपाल जसरी पनि जुन पार्टीमा भए पनि केपी ओलीलाई निकाल्ने र प्रचण्डसँग सहकार्य गरी अध्यक्ष या प्रधानमन्त्री बन्ने दाउमा छन्। त्यसका लागि उनले एमाले विभाजनको अभियान थालिसकेका छन्’, स्रोतले भन्यो।

नेता नेपालका अहिलेको गतिविधि हेर्दा पनि सोही शैलीमा अगाडि बढेको स्पष्ट देखिन्छ। उनी पार्टी विभाजन गरी नेकपा माओवादी केन्द्रदेखि मोहनविक्रम सिंहसम्मलाई सहकार्यलाई निरन्तरता दिने पक्षमा छन्।
आफू पक्षीय स्थायी समितिको बैठक र केन्द्रीय कमिटीको बैठकमा पनि उनले सोही प्रकारको निर्णय गरिसकेका छन्। पार्टी कार्यकर्ताको ठूलो पक्ष भने नेपाल समूहमा नजाने प्रक्षेपण गरिएको छ।

एमालेका सांसदले पनि अहिले नै नेपाललाई साथ दिने अवस्था नरहेको पनि आँकलन गरिएको छ। यद्यपि एउटा हिस्सालाई भने प्रभावित बनाएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिल्ने तयारी छ।
भारतीय पत्रिका द हिन्दूले नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्न लागेको समाचार प्रकाशित गरेको थियो। यसलाई पुष्टि हुनेगरी नेपालले आफू पक्षको नयाँ पार्टी कार्यालयको भवन पनि खोजीरहेको बताएका थिए। तर नयाँ पार्टी गठनका सन्दर्भमा भने उनले केही पनि खुलाएका थिएनन्।

नेकपाबारेको फैसला पुनरावलोकन गरी ब्युँताई हाल्छ कि भन्ने आशमा सर्वोच्चमा निवेदन दिइएको थियो। तर उक्त निवेदन खारेज गरेपछि भने अब माओवादी केन्द्रले नाम परिवर्तन गर्ने प्रक्रिया अगाडि बढ्नेछ।

‘पार्टी ब्युँतिनुअघि भएको सहमतिका आधारमा नै नेपाल समूहले अहिले एमालेभित्र विद्रोह थाल्नुभएको छ। कम्युनिस्टको ठूलो हिस्सा एक भएर ओलीविरुद्ध लड्ने नै हो’, स्रोतले भन्यो,‘नेपालमा कम्युनिस्ट आन्दोलन नै ध्वस्त बनाउने ओलीको खेललाई चिर्न पनि अरु स–साना समूह समेत मिलेर ठूलो हिस्सा जोगाउन आवश्यक छ।’

नेपालले ७७ वटै जिल्लासम्म समानान्तर अभियान चलाएर एउटा ठूलो पंक्तिकै विद्रोहको तयारी र अभ्यास गरिरहेको स्पष्ट चित्र देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट