काठमाडौं । काठमाडौं महानगरपालिकाले आजबाट फोहोर उठाउन थालेको छ । नुवाकोटको सिसडोलका स्थानीयबासीले आफूहरुको माग पूरा नगरेसम्म डम्पिङ साइटमा फोहोर फ्याँक्न नदिएपछि गत शुक्रबारदेखि काठमाडौं महानगरपालिकाले उठाउन सकेको थिएन ।
स्थानीयको माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि महागनगरले फोहोर उठाउन सुरु गरेको महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।
एक साताअघि फोहोरमैला प्रभावित संघर्ष समितिमा आवद्ध सिसाडोलका स्थानीयबासीहरूले अव्यवस्थित फोहोर बिसर्जन हुँदा वातावरणमा प्रभाव पर्न गई स्वास्थ्यमा प्रतिकुल असर परेकोले यस अघिका सम्झौताहरू तत्काल कार्यान्वयनको माग राखेका थिए ।
सिसडोल ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयहरुलाई पूर्ण शिक्षक दरबन्दि उपलब्ध गराउने, सडक स्तारोन्नति गरी कालोपत्रे गर्ने, स्वास्थ्य संस्था निर्माण गर्ने, एक घर एक रोजगारीको व्यवस्था गर्ने सम्बन्धमा यसअघि भएका सम्झौताहरू तत्काल कार्यान्वयन गर्नुपर्ने लगायतका माग स्थानीयहरूले राख्दै आएका थिए ।