माधव नेपाललाई लखेटेको सबैभन्दा गाह्रो प्रश्न – ओलीसँगै रहने कि नयाँ पार्टी बनाएर अघि बढ्ने ?-Sutra News

माधव नेपाललाई लखेटेको सबैभन्दा गाह्रो प्रश्न – ओलीसँगै रहने कि नयाँ पार्टी बनाएर अघि बढ्ने ?

शनिबार, २१ चैत्र २०७७

शनिबार, २१ चैत्र २०७७

काठमाडौँ – यतिबेला नेकपा एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले धेरै ठाउँमा सामना गर्नुपरेको प्रश्न हो – ‘ओलीसँगै रहने कि पार्टी फुटाएर अघि बढ्ने ?’



प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी अनुशासन उल्लङ्घन गरेको भन्दै नेपालसहित ४ नेताहरूलाई ६ महिनासम्म पार्टीको सदस्य नरहने गरी निलम्बन गरेका छन् । नेता नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएपछि नेपाल समूह अहिले बिखलन्दमा परेको हो ।

वरिष्ठ नेता झलनाथ खनालसहित एमाले स्थायी कमिटीका ११ सदस्यहरूले विज्ञप्ति निकालेर ओलीले गरेको कारवाहीको भर्त्सना गरिसकेका छन् । नेपाल-खनाल समूह तत्कालका लागि एमालेमै रहेर देशव्यापी रूपमा समानान्तर कमिटी गठन गर्ने र ओलीको भण्डाफोर गर्ने अभियानमा जुटेको छ ।

शुक्रवार कलङ्कीस्थित मेघा पार्टी प्यालेसमा नेपाल-खनाल समूहको स्थायी कमिटी बैठक बसेको थियो । बैठकबाट बाहिरिने क्रममा नेता योगेश भट्टराईले देशव्यापी रूपमा एमालेको पुनःसंरचना गरेर अघि बढ्ने बताए ।
सञ्चारकर्मीहरूले सोधेको एक प्रश्नको जवाफ दिँदै भट्टराईले भने, ‘हामीले समानान्तर कमिटी गठन गरेका होइनौं । बहुमत हामीसँगै छ । बरू ओलीले जे गरेका छन्, त्यो चाहिँ समानान्तर गतिविधि हो ।’

उनले सर्वोच्च अदालतले फागुन २३ गते गरेको एमाले ब्युँताउने फैसला कार्यान्वयन गर्न ओलीको ध्यानाकर्षण गरिएकोसमेत बताए । ‘हामीले केही दिनमा राष्ट्रव्यापी कार्यक्रमको ढाँचा बनाउछौं,’ भट्टराईले भने, ‘संगठन निर्माण, प्रशिक्षण, राजनीतिक अभियान सबैलाई अन्तिम रुप दिएर अघि बढ्छौं ।’

देशैभर छुट्टै अभियान लिएर जाने उद्घोष गरेको नेपाल-खनाल समूहले नयाँ पार्टी बनाउनेबारे अहिल्यै नसोचेको दाबी गरेको छ । तर उच्च स्रोतले केही दिनमा नयाँ पार्टी घोषणा हुन सक्ने सम्भावना रहेको बताएको छ ।
‘ओलीसँग रहन सकिदैन,’ नेपाल समूहका एक नेताले सूत्रन्यूजसँग भने, ‘यदि अदालतले फागुन २३ गते गरेको फैसलाअनुसार ओली चलेनन् भने हामीले नयाँ सोच्नै पर्ने हुन्छ ।’
नयाँ पार्टी गठन गर्नुहुन्छ त भन्ने प्रश्नमा ती नेताको जवाफ छ, ‘अहिलेसम्म सोचिएको छैन । तर परिस्थिति त्यतै जाँदैछ । पार्टी विभाजन त ओलीले गरिसके ।’

सूर्य चिह्नको मोह कायमै

नेता नेपाल नयाँ पार्टी गठन गरेर अघि बढ्ने मूडमा रहेपनि अहिले नेपाललाई साथ दिएका नेताहरू एमालेमै रहन्छन् कि नवगठित पार्टीमा जान्छन् भन्ने टुंगो छैन । ओलीले आफूतिर आउने सम्भावना देखेर नै ४ जना भन्दा बढीलाई कारवाही गरेका छैनन् ।

नेपाल-खनाल समूहमा पनि दुई मत देखिएको छ । एकाथरीमा नयाँ पार्टी गठन गरेपछि सूर्य चिह्न हातबाट गुम्ने र चुनाव हारिने डर छ । अर्काथरी नेताहरूले भने नयाँ ढंगले अघि बढेमा चिह्नको महत्त्व खासै केही नहुने भन्दै नेपाल र खनाललाई पार्टी विभाजन गर्न उक्साइरहेका छन् ।

केही दिनअघि बसेको भेलामा नेता भट्टराईले नेपाललाई पार्टी विभाजन गर्न नहुने सल्लाह दिएका थिए । पार्टी विभाजन भए नेपाल-खनाल समूहमा थप क्षति हुने उनको दाबी थियो । वर्षौंदेखि सूर्य चिह्नमै चुनाव लडेर जितेर आएका नेताहरूलाई चिह्न प्रतिको मोहभंग भइसकेको छैन ।

बालुवाटार भन्छ – बाटो लागे हुन्छ !

यद्यपि नयाँ चुनावमा ओलीले आफूइतरका नेताहरूलाई टिकट दिने सम्भावना भने लगभग न्यून छ । केन्द्रीय कमिटीमा हाराहारीमा रहेका नेपाल समूहका धेरै नेताहरूलाई गएको आम निर्वाचनमा पनि ओलीले टिकट दिएका थिएनन् ।

‘ओलीसँग टिकट माग्ने नैतिकता र हैसियत उहाँहरूमा हुनुपर्यो नि !’ बालुवाटारनिकट एक नेताले भने, ‘प्रचण्डको होमवर्क लिएर एमालेमा आउने अनि टिकट ओलीबाट माग्ने कुरै हुँदैन । हामीले हाम्रो हिसाबले पार्टी पुनःगठन गरेर अघि बढेका छौं, उहाँहरू बाटो लागे हुन्छ ।’

नयाँ पार्टी गठन गरेर अघि बढ्ने सन्दर्भमा नेता नेपालले पटक-पटक प्रचण्डसँग कुराकानी गरिरहेका छन् । कोटेश्वरस्थित एक व्यापारीको घरमा करीब आधा दर्जनपटक दुवै नेताहरूको भेट भएको छ । एमालेको नेपाल-खनाल समूहले नयाँ पार्टी गठन गरेमा माओवादी केन्द्रसँग एकता गरेर नेकपाजस्तै अर्को शक्ति बनाउन सकिने भन्दै प्रचण्डले आश्वासन पनि दिएका छन् ।

त्यसो गर्दा ओलीले नयाँ पार्टीमा जाने सबैलाई कारवाही गरेर सांसद पद खोस्न सक्ने सम्भावना रहेको छ । नयाँ गठित पार्टीबाट कोही सांसद हुन सक्ने छैन । यदि यही संसद थप २ वर्ष रह्यो भने नयाँ पार्टीमा गएकाहरूले खाइपाई आएको तलबभत्ता गुमाउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट