देउवाको दाउ अर्कै छ, पौडेल र सिटौलालाई किन हतारो?-Sutra News

देउवाको दाउ अर्कै छ, पौडेल र सिटौलालाई किन हतारो?

शनिबार, २१ चैत्र २०७७

शनिबार, २१ चैत्र २०७७

काठमाडौं। नेपाली कांग्रेसको एउटा बैठकमा सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल र कृष्ण सिटौलालाई झपारे– तपाईहरू सांसद नै नभएको मानिसलाई किन चाहियो संसद? चुनाव लोकतान्त्रिक विधि होइन?



प्रतिनिधि सभा पुनःस्थापनाको फैसला हुनुअघि कांग्रेसको बैठकमा देउवाले यसरी झपारेपछि गगन थापाले भनेका थिए,‘चुनावमा जाउँला तर प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भनिसकेका कारण पुनःस्थापना होस् अनि जाऔं।’

अहिले पौडेल र सिटौला सरकारमा जानका लागि देउवालाई दबाब दिइरहेका छन्। आफ्नै नेतृत्वमा सरकार गठन गरेर सोही सरकारले चुनाव गराउँदा सफल बन्ने तुरुप फ्याँके पनि देउवा कन्भिन्स छैनन्।
भदौमा पार्टीको महाधिवेशनको मिति तय गरेका देउवाले अहिले पुनः प्रतिनिधि सभा भंग हुने अवस्था आए मुलुक चुनावमा जाने र त्यसपछि महाधिवेशन गर्ने सोच बनाएका छन्।
यसमा देउवाको दाउ फरक रहेको बताइन्छ।

मुलुक चुनावतिर लागे उनले महाधिवेशनको मिति फेरि सार्नेछन्। जसरी पनि चुनाव हुने अवस्था आए कम्युनिस्ट विभाजित अवस्थामा रहेका बेला कांग्रेसको बहुमत आउने निश्चित छ र त्यसबेला देउवाले पार्टीका हिसाबमा टिकट बाँड्न पाउनेछन्।

‘अहिलेको आवश्यकता चुनाव भन्ने नै हो। त्यसो हुँदा कांग्रेस पहिलो दल हुनेछ’, कांग्रेस स्रोतले भन्यो,‘यस्तो मौका नगुमाउने भन्ने सभापतिको लक्ष्य हो।’
देउवाको लक्ष्य भने त्यतिमात्र होइन। अहिले चुनावका बेला पार्टीका उम्मेदवार चयन गर्ने अधिकार उनमा नीहित हुनेछ। उनले छानेर नै उम्मेदवारलाई पठाउने तयारी गरेका छन् जुनचाहिँ महाधिवेशनमा फेरि सभापतिमा जित्ने भित्री तयारी छ।

कसरी? ‘अहिले चुनावमा टिकट बाँडेर जिताउन पाए कांग्रेसका महाधिवेशन प्रतिनिधिमा देउवा नै सफल भन्ने अर्थ लाग्छ। पहिला आफैंले चुनाव गराउँदा हार्नुपरेको घाउ पनि कांग्रेसजनले विर्सनेछन्’, स्रोतले भन्यो।
पौडेल र सिटौलाले तत्काल चुनावमा जान नहुने विचार राख्नुका पछाडि पनि सोही कारण रहेको बताइन्छ। देउवाले यस्तो विषयमा सफलता हासिल गरे उनीहरूको कांग्रेस नेतृत्वमा आउने सपना पनि तुहिनेछ।

यसैले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमलाई असंवैधानिक भन्न जोडबल गर्दै विकल्पको सरकारका लागि अभ्यास गर्न पौडेल र सिटौलाको जोडबल हो। ‘देउवाले पार्टी सत्ता कायम राख्छन् भन्ने उनीहरुको डर हो। नत्र सांसद नै नभएका उनीहरु प्रधानमन्त्री बन्ने पनि होइन, मन्त्री हुने पनि होइन। किन जोडबल गरिरहेका छन्? स्पट छैन र?’, देउवा निकट नेता भन्छन्।

पौडेल र सिटौलाको यो दबाबबारे देउवा पक्षका नेता जानकार छन्। त्यसैले अहिले नै सरकारमा जान नहुने विचारलाई तिव्रताका साथ लागू गर्नका लागि उनीहरु सभापतिलाई भनिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट