काठमाडौं- पार्टी परित्याग गरेर प्रदेश १ को सरकारको मन्त्री बनेका नेकपा माओवादी केन्द्रका सभासद टंक आङ्बुहाङलाई पार्टीले पदमुक्त गरेको छ । मन्त्री बनेको दश दिनपछि आङ्बुहाङलाई माओवादी केन्द्रले सांसदबाट पदमुक्त गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) त्याग गरेको भन्ने विषयमा पार्टीले स्पष्टिकरण माग्दा तोकिएको समयभित्र स्पष्टीकरण नदिएकाले उनीमाथि पार्टीले कारबाही गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) १ नं. प्रदेश सभा संसदीय दलको सिफारिस अनुसार उनले उनलाई पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । साथै आंङ्बुहाङलाई पार्टीले साधारण सदस्यता समेत नरहने गरी निष्काशन गरेको छ ।
गत चैत १३ गते आङ्बुहाङ प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए । सांसद पद छाडेर मन्त्री बनेपछि पार्टीले उनलाई कारबाही गरेको नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।
टङ्क आङ्बुहाङलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टिकरण सोधेको थियो । तर उनले स्पष्टीकरण बुझाएका थिएनन् ।
नेकपा विभाजनमा एमाले प्रवेश गर्दै मन्त्री बनेका आङ्बुहाङको कार्यकाल अब ६ महिनाको मात्रै हुनेछ । गैरसांसदले ६ महिना मात्रै मन्त्री बन्न पाउने प्रावधान छ ।