काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले राजसंस्थालाई नसमेट्ने हो भने देशमा अस्थिरता कायम रहने बताएका छन् । राजसंस्थालाई अभिभावक मानेर समेट्दा मात्र नेपालको हित हुने उनको भनाइ छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद लिङ्देनले अहिलेको शासन प्रणाली नै विफल भएको दाबी गरे । उनले भने, ‘अब नयाँ ढंगले सहमति गर्न आवश्यक छ । त्यसमा राजसंस्था पनि अँट्नुपर्छ ।’
जहाँ जाने भनेर हिँडेको बाटो त्यहाँ नपुगिएकाले अब गन्तव्यमा पुग्ने बाटो राजसंस्थासहितको व्यवस्था मात्र भएको उनले बताए ।
उनले भने, ‘हामीले पहिला नै भनेको हो । त्यतिबेला हाम्रो स्वर सानो भयो, संख्या सानो भयो ।’
अहिले मुलुकमा देखिएको अस्थिरता, अनिश्चय कुनै एक व्यक्ति वा एउटा पार्टीको मात्र असफलता नरहेको उनले बताए । हामीले अपनाएको प्रणाली नै असफल भएको उनको भनाइ थियो ।
अहिलेकै व्यवस्था, अहिलेकै अवस्थामा सरकार परिवर्तन वा नयाँ निर्वाचन, जुन बाटो अवलम्बन गरे पनि यो अस्थिरता अन्त्य गर्न नसकिने उनले प्रस्ट पारे ।
मुलुकले अहिलेको अस्थिरताबाट शिक्षा लिएर नयाँ सम्झौता गर्नुपर्ने बेला आएको लिङ्देनले बताए ।