कोरोना संक्रमण बढे पनि आतंकित हुनपर्ने अवस्था छैन: मन्त्री त्रिपाठी-Sutra News

कोरोना संक्रमण बढे पनि आतंकित हुनपर्ने अवस्था छैन: मन्त्री त्रिपाठी

मंगलबार, २४ चैत्र २०७७

मंगलबार, २४ चैत्र २०७७

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ को संक्रमण बढे पनि आतंकित हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।



त्रिकाल प्रोडक्सनले आयोजना गरेको नेपाल स्वास्थ्य सम्मेलन-२०२१ को आज उद्घाटन गर्दै उनले छिमेकी मुलुकमा कोभिड-१९ को संक्रमण बढे पनि नेपालमा संक्रमण बढ्न नदिने बताए ।

उनले भारतमा संक्रमण बढ्दै गएकाले नेपालमा पनि फेरि संक्रमणको जटिलता थपिएको बताए । उनले सीमा नाकामा एन्टिजेन परीक्षण गरेर संक्रमणलाई रोकथाम र नियन्त्रण गरिने जानकारी दिए ।

मन्त्री त्रिपाठीले सीमा नाकाबाट आउने संक्रमितलाई राख्न आइसोलेसन, क्वारेन्टिन बनाउने कार्य पनि शुरु गरिएको बताए । उनले सञ्चारमाध्यमलाई पनि संक्रमणको त्रास फैलाउने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गरे ।

उनले चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड-१९ विरुद्धको खोप ‘भेरोसेल’ भोलिदेखि लगाउन शुरु गर्ने जानकारी दिए ।

भोलिदेखि ४० देखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई उक्त खोप दिइने छ । सम्मेलनमा नेपालका लागि अमेरिकाका राजदूत र्याण्डी वेरीले अमेरिकी सरकारले नेपाललाई स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउँदै आएको भन्दै कोभिड-१९ को रोकथाम र नियन्त्रणमा सहयोग गर्दै आइरहेको जानकारी दिए ।

सम्मेलनमा स्वास्थ्य क्षेत्रले भोगिरहेका चुनौती र कमजोरीमाथि छलफल गर्दै सरकारलाई स्वास्थ्य नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्य रहेको छ । सम्मेलनमा स्वास्थ्य साक्षरता, कोभिड-१९ महामारी र दिगो विकास लक्ष्य स्वास्थ्य नीति पुनरावलोकनलगायत विषयमा बहस गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट