काठमाडौं- नेकपा एमालेमा प्रवेश गरेका कारण नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि सांसद पद गुमाएका प्रभु साहले पुष्पकमल दाहाल ‘प्रचण्ड’को कदम निरंकुशताको पराकाष्ठा भएको आरोप लगाएका छन् ।
आफ्नो दल त्यागेका कारण त्यसबाट निर्वाचित सांसदको पनि स्वतः खारेज हुने प्रावधानअनुसार साहसहित माओवादी केन्द्रबाट निर्वाचित चार सांसदलाई पदबाट हटाउन अनुरोध गर्दै माओवादी केन्द्रले मंगलबार संसद् सचिवालयलाई पत्राचार गरेको हो ।
त्यसको भोलिपल्ट बुधबार बिहानै साहले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका हुन् । ‘जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा हो,’ उनले भनेका छन् ।