जोशीको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति: कांग्रेस नेताहरू-Sutra News

जोशीको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति: कांग्रेस नेताहरू

बुधबार, २५ चैत्र २०७७

बुधबार, २५ चैत्र २०७७

काठमाडौं- नेपाली कांग्रेसका नेताहरूले पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति पुगेको बताएका छन् । 



नेपाल विद्यार्थी संघले नेता जोशीको १२ औँ पुण्य तिथिका अवसरमा मंगलबार आयोजना गरेको श्रद्धाञ्जलि सभामा नेताहरुले स्वर्गीय जोशीमा निष्ठा, निरन्तरता र इमान्दारी भएको बताएका हुन् । 

कार्यक्रममा कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले स्वर्गीय जोशीको राजनीतिलाई दुई पाटोबाट हेर्नुपर्ने बताए । 

‘नेता जोशीलाई विसं २०४६ सालको जनआन्दोलन पहिले र जनआन्दोलन पछाडि गरी दुई पाटोबाट अध्ययन गर्नुपर्छ’, उनले भने । पार्टीभित्रको विवाद समाधानमा सदैव लाग्ने नेता जोशी सबैको प्यारो नेता भएको उनको भनाइ थियो । 

कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बलबहादुर केसीले स्वर्गीय जोशी विद्यार्थी आन्दोलनको अगुवा नेता भएको बताए । ‘जोशीको निधनले देश र कांग्रेसले एक असल नेता गुमायो’ उनले  भने । राजनीति गर्ने व्यक्तिले नवीन्द्रराजबाट पाठ सिक्नुपर्ने उनको भनाइ थियो । 

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बालकृष्ण खाँणले जोशीको निधनले नेविसंघ र कांग्रेसलाई अतुलनीय क्षति पुगेको बताए । 

आँखामा राख्दा नबिझाउने नेता स्व.जोशी भएको उनको भनाइ थियो । कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले स्व.जोशी अत्यन्त चतुर र शालीन नेता भएको बताए । कांग्रेसको संगठन विस्तारमा जोशीको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो । 

कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री कमला पन्तले स्व जोशीले दुःखका बेला राजनीति गरेको बताइन् । नेता जोशी नेपाली राजनीतिको प्रेरणाको स्रोत भएको उनकाे भनाइ छ । 

कांग्रेस केन्द्रीय सदस्य एवं नेविसंघका पूर्वअध्यक्ष प्रदीप पौडेलले स्व.जोशीको विचार र आदर्शले आफूलाई राजनीतिमा आउन प्रेरणा मिलेको बताए । 

नेविसंघका अध्यक्ष राजीव ढुंगाना, महामन्त्री दीपक भट्टराईलगायतले कांग्रेस र नेविसंघलाई बलियो बनाएमात्र नेता जोशीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताएका थिए ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट