पोखरा- गण्डकी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले बुधबार राजीनामा दिएका हुन् ।
बुधबारदेखि सुरु भएको गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री चुमानले आफूहरुले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजीनामा पत्र बुझाइसकेको जानकारी दिएका छन् ।
बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो । गण्डकी सरकारमा माओवादी केन्द्रबाट आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र मन्त्री थापा गरी दुई मन्त्री रहेका थिए । २०७४ फागुन ४ देखि दुवैजना मन्त्री रहँदै आएका थिए ।
एमालेलाई मुख्यमन्त्री र माओवादीलाई सभामुखको पद बाँडिएको थियो । ६० सदस्यीय गण्डकी प्रदेशसभामा एमाले २८, कांग्रेस १५, माओवादी १२, राष्ट्रिय जनमोर्चा ३ र जनता समाजवादीका २ सदस्य छन ।
पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारलाई अहिलेसम्म माओवादी र राजमोको समर्थन छ । प्रदेश सरकारलाई दिएको विश्वासको मत भने तत्काल फिर्ता नलिने उक्त पार्टीले जनाएको छ ।