काठमाडौं– शहरी विकासमन्त्री प्रभु साहले जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पदमुक्त गर्ने माओवादी केन्द्रको निर्णय प्रतिगामी रहेको बताएका छन् ।
माओवादी केन्द्र त्यागेर एमालेबाट मन्त्री बनेका साहसहित चारनेतालाई माओवादी केन्द्रले सांसद पदबाट हटाउने निर्णय गरेपछि उनले यस्तो यस्तो टिप्पणी गरेका हुन् ।
बुधबार फेसबुकमा एक स्टाटस लेख्दै साहले प्रचण्डप्रति कटाक्ष गरेका छन् । ‘जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पदमुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवं निरंकुशताको पराकाष्ठा हो,’ उनले लेखेका छन् । ‘आफू चुनाव जित्नलाई नेकपा एमालेसँग एकता र सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिइराख़्नेहरूले हामी साझा घोषणा पत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथि कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउँदैन ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले साहसहित लेखराज भट्ट र गौरीशंकर चौधरीले दल त्यागेकाले उनीहरुलाई सांसद पदबाट हटाउन संघीय संसद सचिवालयमा पत्राचार गरेका थिए ।
साहले लेखेका छन्, ‘निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि नांगै भएका छन् ।’
सांसदहरुमाथि हमलाको दुष्प्रयास गरिएको भन्दै उनले त्यसलाई प्रतिगामी कार्यको संज्ञा दिए । ‘अहिलेकै संसद सुचारू हुनुपर्छ भनेर माग गर्ने तर सारमा जनभावना एवं लोकतान्त्रिक मान्यता विपरीत प्राविधिकरकानुनी आडमा सम्मानित सदन तथा जनताको सच्चा प्रतिनिधिको रुपमा क्रियाशील सांसदहरुको पदमाथि यसरी अनुचित रुपमा हमलाको दुष्प्रयास गर्नु आफैंमा प्रतिगामी कार्य हो,’ साहले लेखेका छन् ।