कम्युनिष्ट आन्दोलन र एकता अहिले पनि जरुरी छ : प्रचण्ड-Sutra News

कम्युनिष्ट आन्दोलन र एकता अहिले पनि जरुरी छ : प्रचण्ड

बुधबार, २५ चैत्र २०७७

बुधबार, २५ चैत्र २०७७

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठनबन्धन गर्नु गल्ती नभएको बताएका छन् । सल्यानमा बुधबार आयोजित एक कार्यक्रममा प्रचण्डले संसद विघटन गर्ने प्रतिगमनविरुद्ध लड्दा अ‍ाफूबाट गल्ती नभएको दाबी गरे ।



‘तपाईं आदरणीय जनसमुदायले गहिरो गरी विचार गरिदिनुपर्‍यो के मैले वाम गठबन्धन कम्युनिष्ट पार्टी एकताबद्ध गरेर राजनीतिक स्थायित्व र विकासतिर देश लाने भनेर सपना देखेर काम गर्नु गल्ती थियो त?’ उनले प्रश्न गरे । ‘बीचमा दुर्घटना हुने खतरा पैदा भएको थियो । त्यो दुर्घटनाबाट राष्ट्रको रक्षा, जनताको रक्षा र तपाईं हामीको सपनाको रक्षा गर्नको लागि म फेरि पनि एकचोटी यो अभियानमा छु ।’

बाँकी जीवन विकास निर्माण र समृद्धिका लागि लगाउने संकल्प गर्दै आफू चुनावमा गएको र त्यसको तीन वर्षपछि दुर्घटना हुन खोजेको टिप्पणी गरे । ‘यो संविधान र लोकतन्त्रको रक्षा गर्दै जनताको विकास र समृद्धिको सपना पूरा गर्न धेरै ठूला–ठूला कुरा गर्ने मौका पाएँ मैले,’ प्रचण्डको भनाइ छ, ‘नेपालको इतिहासमै कमै नेताले यस्तो मौका पाउँछन् । मैले पाएँ । अब बाँकी जीवन विकास निर्माण, समृद्धि, सामाजिक न्याय र समाजवादका निम्ति दिन्छु भनेर संकल्प गरेर चुनावमा गएको थिएँ ।’

त्यस्तो दुर्घटना प्रधानमन्त्री केपी शर्मा ओलीले गराउन खोजको प्रचण्डको भनाइ थियो । कम्युनिष्ट आन्दोलन र एकता अहिले पनि जरुरी रहेको भन्दै प्रचण्डले फेरि पनि त्यसका लागि लाग्ने बताए। ‘कम्युनिष्ट आन्दोलन र एकता अहिले पनि जरुरी छ,’ उनको भनाइ छ, ‘हामीले गरेको एकता गल्ती गरेको होइन । त्यो सही नै हामीले गरेको हो । फेरि पनि आन्दोलनलाई एकताबद्ध गर्नैपर्छ । फेरि पनि राजनीतिक दलहरूबीचमा समझदारी गर्नैपर्छ ।’

नेकपाबारे अदालतले अनपेक्षित फैसला गरेको उनको भनाइ छ । ‘हामीले त सोच्या थियौं, अदालतले बढी भन्यो भने नाम अर्को फेर्नुहोस् भन्ला,’ प्रचण्डले भने, ‘किनभने त्यो भन्दा अरु ठाउँ थिएन । तर, अनौंठो भयो । अदालतले भन्नै नहुने कुरो भन्यो ।’

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट