मकवानपुर- जिल्ला प्रहरी कार्यालय मकवानपुरले सरकारी कागजात कीर्ते गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
हेटौँडा उपमहानगरपालिका-५ मा रहेको नौ कट्ठा जग्गाको सरकारी कागजात कीर्ते गरेको आरोपमा भक्तपुरका बद्रीप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
सरकारी कागजात कीर्ते गरिएको मुद्दापश्चात प्रहरीले खोजीका क्रममा पौडेललाई आज पक्राउ गरेको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
पक्राउ परेका पौडेललाई जिल्ला अदालत मकवानपुरमा कागजातसहित अनुसन्धानका लागि पठाइएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय बाराले अपहरण गरेको आरोपमा एक व्यक्तिलाई १३ वर्षपछि पक्राउ गरेको छ । अपहणपश्चात् १३ वर्षदेखि लुकीछिपी रहेको अवस्थामा रहेका बाराका वीरेन्द्र महतो धानुकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
बाराका तत्कालीन प्रसौनी गाउँ विकास समिति-७ का बलिराम साहलाई २०६४ सालमा अपहरण गरेको र अपहरणबाट भागेर आएपछि निज साहले सोही समयमा दिएको उजुरीको आधारमा महतोलाई प्रहरीले पक्राउ गरेको हो ।
किराना पसल चलाउँदै गरेका शाहलाई १० जनाको समूहमा पसलबाट अपहरण गरी रु २० लाख फिरौती माग गरिएको थियो ।
अपहरणकारीको कब्जाबाट भागेर आएका साहले महतोविरुद्ध उजुरी दिएको बारा जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।