कञ्चनपुर- कञ्चनपुर विभिन्न मुद्दाका फरार नौ प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको छ । एक साताको अवधिमा प्रहरीले नौ प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकामध्ये केहीलाई कञ्चनपुर जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ भने केहीलाई अदालतमा उपस्थित गराई जरिवाना तिराई छाडिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार चेक अनादर मुद्दामा दोषी ठहर भएका भीमदत्त नगरपालिका-१८ का २४ वर्षीय अनिल रिजाल, लागुऔषध मुद्दाका भीमदत्त नगरपालिका-३ का २३ वर्षीय दिवश कुँवर, चोरी मुद्दाका पुनर्वास नगरपालिका-६ का मनिष विकलाई पक्राउ गरी अदालतमार्फत कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।
यसैगरी अंश मुद्दाका फरार प्रतिवादी कृष्णपुर नगरपालिका-६ का उदयराज जोशी, जयराज जोशी र धनिराज जोशीलाई अदालतमा उपस्थित गराई जरिवाना तिराई छाडिएको छ ।
भ्रष्टाचार मुद्दाका भीमदत्त-४ का महिमान सिंह विष्टलाई समेत जरिवान तिराई छाडिएको छ । मानव बेचविखन तथा ओसार-पसार कसुर मुद्दामा वारदातपश्चात् भागी फरार रहेका प्रतिवादी पुनर्वास-६ का २४ वर्षीय चन्द्र विक (सुनार), वर्ष २२ का आशा सुनार र सोही ठाउँ बस्ने वर्ष २४ का गुड्डु सुनारको हकमा अदालतबाट पक्राउ पुर्जी जारी भई खोजतलास भइरहेको छ ।
फरार प्रतिवादीमध्ये चन्द्र विकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सवारी ज्यान मुद्दामा तीन वर्षदेखि फरार पुनर्वास-९ बिचफाँटाका ४५ वर्षीय लिला सुनार र वर्ष २४ का सागर विकको हकमा अदालतबाट पक्राउ पुर्जी जारी भएकोमा सागर विकलाई प्रहरीले पक्राउ गरेको छ ।