काठमाडौं- सूचना प्रविधि विधेयक बिहीबार संसद बैठकको कार्यसूचिबाटै हटेको छ । प्रतिनिधिसभा बैठकअघि संसद भवनमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रले विरोध गरेपछि कार्यसूचीबाट हटाइएको हो ।
नेपाली कांग्रेसका एक सांसदकाअनुसार सत्तारुढ दल नेकपा एमालेका प्रतिनिधिले अन्तिमसम्म सूचना प्रविधि विधेयकको प्रतिवेदन पेश गर्नैपर्ने अडान लिएका थिए । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले सूचनाप्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन पेश गर्ने उल्लेख थियो ।
विकास समितिबाट यो विधेयक पारित भएको १५ महिना नाघिसकेको छ । १३ पुस २०७६ मा संसदको विकास तथा प्रविधि समितिले प्रमुख विपक्षी नेपाली कांग्रेसको फरक मतका बाबजुद सूचनाप्रविधिसम्बन्धी विधेयक बहुमतले पारित गरेको थियो ।
समितिबाट विधेयक पारित भएलगत्तै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति निकालेर उक्त विधेयक सच्याउन माग गरेका थिए । तर, कांग्रेसको फरक मतलाई नसमेटेरै विधेयकको प्रतिवेदन पेश गर्न लागेपछि कांग्रेसले विरोध गर्दै आएको छ ।