काठमाडौं– नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका चार जना मन्त्रीलाई पार्टीले कारबाही गरेपछि सांसद पद खोसिएको छ ।
प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको संसद सचिवालयले घोषणा गरेको हो ।
माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले प्रवेश गरेका उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएका दिए ।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् । कारबाहीमा परेका चारै जना सांसद मन्त्री छन् । कानुनविद् दिनेश त्रिपाठीका अनुसार प्रतिनिधिसभा सदस्य नहुनेवित्तिकै मन्त्री पद रिक्त हुन्छ । ‘मन्त्री पदमा निरन्तरता दिने हो भने पुनः नियुक्ति गर्नुपर्छ,’ उनले भने ।
हेर्नुहोस् भिडियो…