काठमाडौं- नेकपा एमालेका सांसद महेश बस्नेतले बस्नेतले रानीपोखरी बन्दा र धरहरा ठडिँदा किन टाउको दुःखेको भन्दै कांग्रेस सांसद गगन थापालाई प्रतिप्रश्न गरेका छन् ।
‘रानीपोखी बनेको कुराले किन हाम्रो टाउको दुख्दै छ, धरहरा ठडिएको कुराले किन हाम्रो टाउको दुख्दै छ,’ बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बस्नेतले भने, ‘एक दिनमा तीन सय ४६ अस्पताल शिलान्यास भएको कुराले किन हाम्रो टाउको दुख्दैछ ?’
बिना कुनै डिपीआर १ सय ६५ वटा रणनीतिक सडकको शिलान्यास गरेको भन्दै थापाले प्रधानमन्त्रीमाथि व्यंग्य समेत गरेका थिए । थापाले भनेका थिए, ‘१ सय ६५ वटा सडक मात्रै किन शिलान्यास ? एकैपटक १६ सय गरिदिम यत्तिको बलियो प्रधानमन्त्री भएका बेला ।’
त्यसको जवाफ दिँदै बस्नेतले आफ्नो निर्वाचन क्षेत्रमा सडक चाहिँदैन भनेर हिम्मतसाथ भन्न चुनौती समेत दिए ।
‘१ सय ५६ वटा निर्वाचनसँग सम्बन्धित सडकहरू रणनीतिक सडकहरू शिलान्यास हुँदा किन टाउको दुख्दै छ ?,’ थापाको नाम नलिकनै बस्नेतले भने, ‘एउटा सांसद भौतिक पूर्वाधार मन्त्रालयमा धाएर त्यसमा सडक प्रस्तुत गर्छ । मेरो निर्वाचन क्षेत्रमा त्यो सडक चाहिँदैन भन्ने हिम्मत छ भने हिम्मतका साथ बोल्नुहोस् होइन भने यसको विरोध गर्नुको कारण जनताले महसुस गरेका छन् ।’