भोलिदेखि देशभरका हलमा ‘श्री’-Sutra News

भोलिदेखि देशभरका हलमा ‘श्री’

बिहिबार, २६ चैत्र २०७७

बिहिबार, २६ चैत्र २०७७

काठमाडौं- ७२ घण्टामा छायांकन सकिएको चलचित्र ‘श्री’ भोलि शुक्रबारदेखि देशभरका हलमा प्रदर्शन हुने भएको छ ।



निर्देशक एभरेष्ट सूर्य बोहराले आफ्नै निर्माण र निर्देशनमा तयार पारेको ‘श्री’ बारे मंगलबार राजधानीको सिडिसी सिनेमामा पत्रकार सम्मेलन गरि जानकारी दिइयो ।

नयाँं वर्षको अवसर पारेर दर्शकमाझ आउन लागेको ‘श्री’ मा सन्दिप क्षेत्री, बर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल,बसुन्धरा भुसाल, रबिन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ,सविता गुरुङ,नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीले अभिनय गरेका छन् ।

ओटिटीमा मात्रै रिलिज गर्ने तयारी गरिएको भए तापनि ट्रेलर हेरेपछि भने यो फिल्म हलमै प्रदर्शन गर्नुपर्छ भन्ने लागेर आफैले पहल गरेको वितरक करण श्रेष्ठले जानकारी दिए ।

‘श्री’ का प्रमुख पात्र सन्दिप क्षेत्रीले यो चलचित्र आफ्ना लागि निकै महत्वपूर्ण रहेको बताए । उनले निर्देशक बोहराले आफूलाई कमेडी बाहेकको भूमिकामा समेत विश्वास गरेर अवसर दिएकोमा धन्यवाद दिए ।

अभिनेता भोला सापकोटाले ‘श्री’ मा आफूले निर्वाह गरेको भूमिकाका साथै समग्र चलचित्रको चर्चा गरे ।

फिल्मकी निर्मात्री तथा अभिनेत्री सबिता गुरुङले चलचित्र प्राविधिकहरूलाई राहत स्वरुप ‘श्री’ निर्माण गरिएको स्मरण गर्दै अब यसले हललाई पनि राहत दिने विस्वास व्यक्त गरिन् ।

एभरेष्ट सूर्य बोहरा फिल्मस्को ब्यानर, महारानी इन्टरटेन्मेन्ट युके र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको फिल्मको सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाइ छायांकन गरिएको थियो ।

कार्यक्रममा फिल्मका सम्वाद लेखन शिवम अधिकारी तथा मुख्य सहायक निर्देशक सुदीप कुँवरले पनि ‘श्री’ निर्माण प्रक्रिया र परिस्थितिको बिस्तार लगाएका थिए ।

सोसियल सस्पेन्स कथामा निर्माण गरिएको चलचित्रको निर्माता श्री पराजुली र सविता गुरुङ तथा सहनिर्मातामा यम बराल, सूर्य सिम्खडा (साइराम) ,बाल शर्मा (टाइगर) र सिन्धु पौडेल गौतम छन् ।

निर्देशक बोहराकै लेखनमा शिबम अधिकारीले सघाएको फिल्म शेरबहादुर तामाङले खिचेका हुन् ।

सुजन बडालको सम्पादन र एलिस कार्कीको ब्याकराउण्ड स्कोर छ । ‘श्री’ हलका साथै ओएसआर डिजिटलका बिभिन्न एप्लिकेसनमा समेत प्रदर्शन गरिदैछ ।

169742923_494574894901405_6220676736811930305_n.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट