काठमाडौं- आगामी वैशाख ६ र ७ गते ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ को क्याप्सुल खुवाइने भएको छ ।
यो कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्र पठाएको छ ।
मन्त्रालयले अभियानका क्रममा आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पनि पत्र लेखेको छ ।
अभियानअन्तर्गत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइने छ ।
त्यस्तै १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि पनि दिइने छ । यस्तै ६ देखि २३ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लामा बालभिटा वितरण गरिने छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले मन्त्रालयले ११ बुँदे निर्णय गर्दै अभियानका क्रममा सोही अनुसार अगाडि बढ्न पनि निर्देश गरेको छ ।
मन्त्रालयले अभियानका क्रममा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै बालबिलकाको पाखुराको मध्य परिधिको नाप लिने कार्यक्रम स्थगन गरेको जनाएको छ ।