सांसद पद चट् भएका चार मन्त्रीको पुनर्नियुक्ति, साविककै जिम्मेवारी-Sutra News

सांसद पद चट् भएका चार मन्त्रीको पुनर्नियुक्ति, साविककै जिम्मेवारी

शुक्रबार, २७ चैत्र २०७७

शुक्रबार, २७ चैत्र २०७७

काठमाडौं– नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका चार नेताको सांसद पद खोसिएपछि शुक्रबार फेरि मन्त्री पदको शपथ लिने भएका छन् ।



सांसद पद खोसिएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेका हुन् ।

कारबाहीमा परेका नेताहरू उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरी हुन् ।

चारै जना माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनीहरू साविकको नेकपा विभाजित हुँदा अध्यक्ष एवं प्रधानमन्त्री ओलीतिर लागेका थिए ।

पार्टीले गरेको कारबाहीका कारण पदमुक्त भएका चार मन्त्रीको आजै पुनर्नियुक्ति र सपथ हुने भएको छ । प्रधानमन्त्री ओलीले पदमुक्त भएका चारै जनालाई पुनर्नियुक्ति गर्न लागेका हुन् । उनीहरूको दिउँसो ५ बजे शीतल निवासमा शपथग्रहण कार्यक्रम राखिएको छ ।

प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार माओवादीबाट एमाले बनेका नेताहरूलाई पुनर्नियुक्ति दिइएको हो ।

६ महिनाभित्र उपचुनाव हुनुपर्ने भएकाले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी त्यतिन्जेल मन्त्री हुन पाउँछन् । उपचुनावमा उनीहरू एमालेबाट उम्मेदवार बन्ने निश्चित प्रायः छ ।

उनीहरूलाई साविककै मन्त्रालयमा नियुक्त गरिएको हो । जसअनुसार भट्ट ओलीको सरकार गठन भएयता निरन्तर मन्त्री छन् भने रायमाझी, साह र चौधरी पुस ५ मा प्रनिनिधिसभा बिघटनपछि १० पुसमा पुर्नगठित मन्त्रिपरिषदमा सदस्य बनेका थिए।

त्यही बेला माओवादी केन्द्रबाट गएका मणिचन्द्र थापा खानेपानी तथा सरसफाई मन्त्री र दावा लामा तमाङ युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका थिए । थापा र लामा भने गैरसांसद मन्त्री भएकाले नियुक्त भएको अवधिदेखि ६ महिनासम्म मन्त्री हुन पाउनेछन् त्यसपछि सांसपद बन्न नसकेमा प्रतिनिधिसभाको बाँकी अवधिभर मन्त्रीमा पुनः नियुक्त हुन नसक्ने व्यवस्था छ ।

हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट