नयाँ सरकार गठनबारे देउवा निवासमा तीन दलबीच छलफल भयाे, सहमति भएन-Sutra News

नयाँ सरकार गठनबारे देउवा निवासमा तीन दलबीच छलफल भयाे, सहमति भएन

शुक्रबार, २७ चैत्र २०७७

शुक्रबार, २७ चैत्र २०७७

काठमाडौं- नयाँ सरकार बनाउनेबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक विनानिष्कर्ष सकिएको छ । शुक्रबार देउवा निवास बुढानिलकण्ठमा बसेकाे बैठकमा नेकपा माओवादी केन्द्र र जसपाका शीर्ष नेता सहभागी थिए ।



माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आजको बैठकमा जसपाले पार्टीमा छलफल गर्न समय माग गरेको बताए । उनकाअनुसार अर्को बैठक छिट्टै बस्नेछ । श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन छिट्टै फिर्ता लिइने पनि बताएका छन् ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माकाअनुसार कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने औपचारिक रूपमा आज पहिलोपटक बैठक भएको हो । ‘जसपाका नेताहरूले केही समय चाहिन्छ भन्नुभएको छ,’ उनले भने, ‘पार्टीमा छलफल गरेको छैन भन्नुभएको छ । जसपाको बैठक गरी निर्णय गर्न समय माग गर्नुभएको छ । अर्को बैठक बस्ने गरी सहमतिपूर्वक बैठक टुंगिएको छ ।’

जसपाले निर्णय गरेपछि नयाँ गठबन्धनबारे प्रक्रिया सुरू हुने शर्माले बताएका छन् । बैठकका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेता नारायणकाजी श्रेष्ठ, देव गुरूङ पुगेका छन् । जसपाबाट अध्यक्षहरू डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरू राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

यस्तै कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिहरू विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्मा सहभागी थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट