काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्नियुक्त भएका ४ जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छिन् । शुक्रबार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
मन्त्रीहरूले साविककै मन्त्रालयमा पुनर्नियुक्ति पाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सांसद पदबाट हटाएका ४ मन्त्रीलाई शुक्रबार पुन नियुक्त गरेका थिए ।
माओवादी केन्द्रले कारबाही गरेका नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी हुन् ।
चारै जना माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनीहरू साविकको नेकपा विभाजित हुँदा अध्यक्ष एवं प्रधानमन्त्री ओलीतिर लागेका थिए ।
पार्टीले गरेको कारबाहीका कारण सांसद पद खोसिएका चार मन्त्रीको आजै पुनर्नियुक्ति र शपथ भएको हो ।
प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार माओवादीबाट एमाले बनेका नेताहरूलाई पुनर्नियुक्ति दिइएको हो ।
६ महिनाभित्र उपचुनाव हुनुपर्ने भएकाले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी त्यतिन्जेल मन्त्री हुन पाउँछन् । उपचुनावमा उनीहरू एमालेबाट उम्मेदवार बन्ने निश्चितप्रायः छ ।
हेर्नुहाेस् भिडियाे…