सरकार संविधान र कानूनलाई मिच्दै सत्ता कब्जा गर्ने अभियानमाः प्रचण्ड-Sutra News

सरकार संविधान र कानूनलाई मिच्दै सत्ता कब्जा गर्ने अभियानमाः प्रचण्ड

शनिबार, २८ चैत्र २०७७

शनिबार, २८ चैत्र २०७७

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकार संविधान र ऐन कानूनलाई मिच्दै राज्य सत्ता कब्जा गर्ने अभियानमा रहेको बताएका छन् ।



नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शुक्रबार बसेको तीन दलको बैठकले सरकारले राज्यका सबै अङ्गहरुलाई सन्त्रासमा राख्‍ने र कब्जा गर्ने कोसिस गरेको निष्कर्ष निकालेको बताएका हुन् ।

यस्तै कर्मचारीतन्त्रलाई आतङ्कमा बाँच्‍न बाध्य पारिएको र उनीहरुको वृत्ति विकास, स्वतन्त्रता र आत्मसम्मानलाई कुल्चिने कोसिस भएको पनि बताए ।

उनले भने ‘हिजो मात्रै हामी संसद्‌भित्र भएका तीनवटा प्रमुख दलहरुको बैठक बस्दै थियौँ । सरकारको बारेमा कुरा गर्न तपाईंहरूलाई थाहा छ । त्यहाँ सबैको एउटा कुरामा सहमति देखा पर्‍यो । अहिलेको सरकारले कर्मचारी तन्त्रलाई आतङ्कमा बाच्‍न बाध्य पार्न थालेको छ । राज्यका सबै अङ्गहरुलाई सन्त्रासमा राख्‍ने र कब्जा गर्ने कोसिस गरिएको छ, उनीहरुको वृति विकास उनीहरुको स्वतन्त्रता र आत्मसम्मानलाई कुल्चिने कोसिस भएको छ । राज्यका सबै अङ्गहरुमाथि जबरजस्ती कब्जा जमाउने सडयन्त्र शुरु भएको छ भन्‍नेकुरामा सबैको सहमति देखियो त्यहाँ । त्यो आफैमा एउटा ठूलो बिडम्बनाको स्थिति हो ।’

सरकारले कानूनअनुसार हुनै नसक्ने र हुनै नहुने कामहरु गरिरहेको पनि बताए । सरकार अवैधानिक, असंवैधानिक र अलोकतान्त्रिक काम गर्न तर्फ उन्मुख भइराखेकोले देशमा निकै ठूलो अन्यौल र सन्त्रास उब्जिएको पनि बताए ।

उनले भने ‘अहिले हामी हेर्‍यौं भने दिन दिनै जस्तो के संविधान, के ऐन कानून, नियम सबैलाई मिच्दै जबरजस्ती राज्य सत्ता कब्जा गर्ने एउटा डरलाग्दो अभियान चलेको स्थिति छ अहिले । हुनै नसक्ने र हुनै नहुने कुराहरु भइराखेका छन् । जे आधिकारीक हो, जे बैधानिक हो, जे संवैधानिक हो, जे बिधिसम्मत हो त्यसलाई गलहत्याइएको छ, त्यसलाई निमोठिएको छ । जे अवैधानिक हो, असंवैधानिक हो, अलोकतान्त्रिक हो, नियम विरोधी कुराहरु त्यसलाई पच्छ्याइएको छ सरकारबाट यही सबैचिज अहिले देशमा निकै ठूलो अन्योल र सन्त्रास छ ।’

उनलेले सरकारले संविधानलाई मिच्ने कोसिस जारी राख्दै गएमा नयाँ खालको विद्रोहमा जानुपर्ने पनि बताए ।

लोकतान्त्रिक गणतन्त्र र संविधान सभा मार्फत बनेको संविधानको रक्षाको निम्ति पनि आन्दोलनमा जानुको विकल्प नदेखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट