पदकमा चुच्‍चे नक्सा प्रयोग नभएकोप्रति युवा संघको आपत्ति, सरकारविरुद्ध प्रदर्शन-Sutra News

पदकमा चुच्‍चे नक्सा प्रयोग नभएकोप्रति युवा संघको आपत्ति, सरकारविरुद्ध प्रदर्शन

शनिबार, २८ चैत्र २०७७

शनिबार, २८ चैत्र २०७७

काठमाडौं- सरकारले शुक्रबार वितरण गरेको पदकमा नेपालको नयाँ नक्सा प्रयोग नगरिएको भन्दै युवा संघले विरोध प्रदर्शन गरेको छ ।



शनिबार काठमाडौंको माइतीघर मण्डलामा एमालेको माधवकुमार नेपाल समूह निकट युवा संघका नेताहरूले विरोध प्रदर्शन गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतलनिवासमा राष्ट्रका विभिन्‍न क्षेत्रमा योगदान पुर्‍याएकाहरूलाई विभिन्‍न मानपदवी, अलंकार र पदक वितरण गरेकी थिइन् ।

तर ती पदकहरूमा नेपालले गत वर्ष अनुमोदन गरेको नयाँ नक्सा प्रयोग नभई पुरानै नक्सा प्रयोग भएको छ ।

त्यसैको विरोधमा युवा संघले शनिबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरूले ‘लिपुलेक र कालापानी सहितको चुच्चे नक्सा खोई ?,’ ‘नेपालको पूर्ण नक्सा (चुच्चे) को प्रयोग सुनिश्‍चित गर’ लगायत लेखिएका ब्यानर तथा प्लेकार्ड लिएर सडकमा सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

उनीहरूले ‘संविधान मिच्‍न पाइँदैन’, ‘चुच्चे नक्सा प्रयोगमा ल्याउ’, ‘राष्ट्रघाती सरकार मुर्दावाद’, ‘चुच्चे नक्सा प्रयोग नभएका पदक खारेज गर’ लागयतका नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट