कैलाली- नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट ठुलो भूल भएको बताएका छन् ।
आइतबार नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई नबोलाइ फागुन २८ गते आफ्ना गुटको बैठकबाट महाधिवेशन आयोजक कमिटी बनाउनु ओलीको ठूलो भूल बताएका हुन् ।
ओलीले पार्टीको विधानमा उल्लेखित बुदा नं. १३ को क तथा १४ र ५८ उलङ्घन गरी महाधिवेशन आयोजक कमिटी बनाएर ठूलो गल्ती गरेको रावलको भनाइ छ ।
उनले नवौं महाधिवेशनमा जस्तो संरचनामा थियो त्यस्तै संरचनाअनुसार जिल्ला प्रदेश वडा स्तरसम्मका पार्टी र जनसंगठनका सबै कमिटीहरु सकृय तुल्याउन आफूहरुले कमिटी गठन गरेको पनि दावी गरे ।
देशलाई आवश्यक परेमा आफूहरू कुनै पनि पदमा नरही अनवरत रुपमा पार्टी, देश र जनताका निमित्त बलिदानी दिन तयार रहेको उनको भनाइ छ ।
रावलले केपी ओलीको कारबाही स्वेच्छाचारी र विधान विपरित भएकाले नडराउन समेत पार्टीका नेता-कार्यकर्तालाई अनुरोध गरे ।
।