काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफूपक्षीय कार्यकतालाई ढुक्क भएर पार्टीको काममा लाग्न सर्कुलर जारी गरेका छन् । उनले सर्कुलर जारी गर्दै आफूहरुको जित निश्चित भएको समेत उल्लेख गरेका छन् ।
वरिष्ठ नेता झलनाथ खनालको सहभागितमा चैत ४ र ५ गते गरिएको छुट्टै भेला, त्यसअघि र पछि भएका स्थायी कमिटी तथा केन्द्रीय कमिटीका निर्णयहरू समेटेर सर्कुलर पठाइएको हो ।
सर्कुलरमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली महाधिवेशनबाट पारित नीति र विधिअनुसार नचलेको आरोप समेत लगाइएको छ ।
पार्टीको नवौं महाधिवेशन र त्यस पश्चात हाम्रा साथमा रहेका सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरूमा विकसित हुन सक्ने निरासा, हतासा, अकर्तव्यमण्डता, वितृष्णा र पलायनतालाई रोक्न, नयाँ उर्जा, उत्साह, संकल्प, आत्मविश्वास र कृयाशीलतालाई अगाडी बढाउन अत्यावश्यक देखियो ।
हामीले कम्युनिस्ट पार्टी र आन्दोलनलाई छिन्न भिन्न हुनबाट रोक्न, संगठित भएर पुनःक्रियाशील भई पार्टी र आन्दोलनलाई अगाडि बढाउनु आफ्नो कर्तव्य र जिम्मेवारी ठान्यौं,’ चैत २७ मा तयार गरिएको सर्कुलरमा उल्लेख छ, ‘नेपालको कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिका उपलब्धिहरूको रक्षा गर्नुपर्ने दायित्व हाम्रो काँधमा आएको छ । हाम्रो काँधमा आएको यो दायित्व वहन गर्न संकल्पवद्ध भएर अगाडि बढ्नु पर्छ । यीनै विचार, भावना र संकल्प बोकेर दृढता एवम् आत्मविश्वासका साथ हामी सबैअघि बढौं । जित हाम्रो निश्चित छ ।’