डढेलो नियन्त्रणमा सेनाको सक्रियता-Sutra News

डढेलो नियन्त्रणमा सेनाको सक्रियता

मंगलबार, ३१ चैत्र २०७७

मंगलबार, ३१ चैत्र २०७७

गण्डकी- वनजंगलमा डढेलो लाग्ने क्रम बढेसँगै यसको नियन्त्रणमा नेपाली सेनाले सक्रियता बढाएको छ ।



डढेलोसँगै त्यसबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि गण्डकी प्रदेशका विभिन्न जिल्लास्थित गण, गुल्म, बाहिनी तथा पृतनामार्फत आगलागी नियन्त्रणका काम भइरहेको पश्चिम पृतना हेडक्वाटर विजयपुरका जनसम्पर्क अधिकृत मेजर प्रेमप्रसाद पौडेलले बताए ।

एक महिनाअघि मनाङमा भएको आगलागीका साथै त्यसयता तनहुँ, कास्कीलगायतका विभिन्न जिल्लामा लागेको डढेलो नियन्त्रणका लागि तत्तत् स्थानस्थित नेपाली सेनाको गण, गुल्म, बाहिनी, तथा पृतनामा खटिएका नेपाली सेनाको टोलीले सक्रियताका साथ जिम्मेवारी निर्वाह गरेको उनले जानकारी दिए ।

केही दिनअघि तनहुँ जिल्लाका विभिन्न स्थानमा लागेको डढेलोका साथै पोखरा-१६ घार्मी, पोखरा-२६ स्थित टाइगर माउन्टेनस्थित जंगलमा लागेको डढेलो नेपाली सेनाको सक्रियतामा नियन्त्रणमा लिएको पौडेलले बताए ।

सोमबार राति पोखरा महानगरपालिका-२१ को जंगलमा लागेको आगो झण्डै पाँच घण्टाको समयावधिमा नियन्त्रणमा आएको थियो ।

सो आगलागी नियन्त्रणका लागि बेलुका ६ बजेदेखि फष्ट रेन्जर बटालियन, एयरपोर्टका मेजर सरोज नेपाल नेतृत्वको १२० जनाको टोली खटिएको थियो । उक्त स्थानमा आगलागी हुँदा यहाँका झण्डै ५० घरसमेत जोखिममा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट