नयाँ वर्षको शुभकामना दिदै पूर्वराजा ज्ञानेन्द्रले भने- एउटा बिग्रेको अर्कोले हेर्ने बेला हैन-Sutra News

नयाँ वर्षको शुभकामना दिदै पूर्वराजा ज्ञानेन्द्रले भने- एउटा बिग्रेको अर्कोले हेर्ने बेला हैन

मंगलबार, ३१ चैत्र २०७७

मंगलबार, ३१ चैत्र २०७७

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो राजनीतिक परिदृश्यलाई संकेत गर्दै ‘फुटेर हैन, जुटेर शक्ति संरक्षण गर्न’ आग्रह गर्दै त्यसमा नेपालको कल्याण हुने बताएका छन् ।



नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा ज्ञानेन्द्रले जारी गरेको शुभकामना सन्देशमा हरेक नयाँ वर्षमा सुख, समुन्नति, शान्ति र सन्तुष्टिको अपेक्षा गरिए पनि समयक्रममा ती सबै चकनाचुर भइरहेको उल्लेख गरेका छन् ।

‘राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी हामी सबैमा हुनुपर्दछ । यसका निम्ति आपसी भाँडभैलो, अनमेल र द्वन्द्वको अन्त्य हुनुपर्छ अनि समन्वय, सामञ्जस्य पनि रहनुपर्दछ’, शुभकामना सन्देशमा भनिएको छ, ‘हाम्रा पिता पुर्खा तथा त्यागी विरांगानाहरुले जोगाएको हाम्रो साझा बारी नेपाललाई सबै मिलेर स्याहार सुसार गर्नु र सजाउनु छ । अनावश्यक प्रकृतिको दोहन, आर्थिक अपचलन एवम् वैदेशिक प्रभाव र परनिर्भरता त्याग्दै जानुपर्ने आवश्यकता हो ।’

पूर्वराजा ज्ञानेन्द्रले टाठा-बाठा मात्र मोटाउँदै जाने र निमुखा सर्वसाधारणको जीवनस्तर कहिल्यै नउठ्ने गतिविधि र पद्धति त्याग्न पनि आग्रह गरेका छन् ।

‘नेपाली हामी फुटेर हैन, शक्ति संरक्षण गरौँ जुटेर । एकतामा हाम्रो सफलता छ, यसैमा देशको कल्याण छ । हाम्रा समस्या साझा छन्, एउटा बिग्रेको अर्कोले हेर्ने बेला हैन । सबैको एउटै उद्देश्य हुनुपर्दछ, एउटै कामना हुनुपर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘देशको उन्नति र अधोगति हाम्रै हातमा छ । पहिला देश अनि आफू भन्ने भावना हामी सबैमा हुनु अत्यावश्यक छ । हामीले कर्तव्य पूरा गर्‍यौँ भने हामी उठ्छौँ । निषेध र प्रतिशोधको चक्रब्यूहबाट बाहिर आउनैपर्छ । मेची महाकाली-देश बचाउने हाम्रो पालि । नेपाल हाम्रो पहिचान हो-सनातन हाम्रो संस्कार हो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट