काठमाडौं- भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको चौथौं दिन मंगलबार भक्तपुरको बोलाछे टोलमा हात नभएको लिंगो ठड्याइएको छ ।
मंगलबार शुभसाईतमा लिंगो ठड्याइएको हो । संस्कृतिविद्का अनुसार, राज्य र स्थानीय प्रजापती समुदायबीच मनमुटाव भएपछि मल्लकालमा नै राज्यद्वारा ठड्याउने योसिँख्योको लिंगोभन्दा पहिला नै स्थानीयद्वारा हात नभएको लिंगो ठड्याउने प्रचलन सुरु भएको हो ।
हात नभएको लिंगो ढालेपछि बिस्केट जात्राको अन्त्य हुने भएकाले पनि नेवार समुदायमा यो लिंगो ठड्याउनुको ठूलो महत्व रहेको संस्कृतिविद्को भनाइ छ ।
हात नभएको लिंगो वैशाख ५ गते ढाल्ने प्रचलन छ । लिंगो ठड्याइसकेपछि गहिटीमा रहेको भैलख खलाँ जुकेगु अर्थात् भैरवको खटलाई योसींख्योमा लानको लागि बाटो मिलाएर राख्ने गरिन्छ ।