यस्ता छन् पूर्वराजा ज्ञानेन्द्रलाई भारतले दिएको सन्देश-Sutra News

यस्ता छन् पूर्वराजा ज्ञानेन्द्रलाई भारतले दिएको सन्देश

बुधबार, १ बैशाख २०७८

बुधबार, १ बैशाख २०७८

काठमाडौं- उत्तराखण्डको हरिद्वारमा लागेको कुम्भमेलामा शाही स्नान गरेका पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार नयाँ दिल्ली फर्केपछि उच्चस्तरीय अनौपचारिक भेटघाट हुने बताइएको छ। भारतीय साधु सन्त र महन्थले श्री ५ को मान्यता दिएर उच्च सम्मानका साथ पुष्पवृष्टिसहित रथयात्रा गराएका ज्ञानेन्द्रको भारतको यस पटकको लामो बसाइलाई धार्मिक, राजनीतिक र व्यवस्थाको हिसाबमा व्याख्या गरिएको छ।



भारतको पश्चिम बंगाल राज्यमा विधानसभाको चुनाव भइरहेका बेला उनलाई उत्तराखण्ड र उत्तर प्रदेश सरकारले उच्च सम्मान गरेको छ। केन्द्रीय सरकारका उच्च अधिकारीले २६ चैतमा पुगेका ज्ञानेन्द्रका लागि शाही सुरक्षा दिएको थियो।

चुनावका कारणले उच्चस्तरीय भेटवार्ता पहिला हुन सकेन। फार्म हाउसमा बसेका उनलाई अब नयाँ दिल्ली फर्केपछि उच्चस्तरीय भेटको समय मिलाइएको दाबी गरिन्छ। सम्भवतः बुधबारदेखि नै उनलाई भारतीय जनता पार्टीका उच्च अधिकारीलगायतले भेट गर्ने दाबी गरिएको छ।

भारतीय संस्थापनका अधिकारीहरूसँगै कांग्रेस आईका उच्च तहका नेतासँग ज्ञानेन्द्रको वार्ता हुने बताइएको छ। भारतका गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, कांग्रेस आईका नेता करण सिंहलगायतले ज्ञानेन्द्रसँग वार्ता गर्ने बताइएको छ।

king gyanendra shah sutra news.jpg

उत्तर प्रदेशका मुख्यमन्त्री तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र योगी आदित्यनाथ, भाजपासँग नजिक रहेका बाबा रामदेवलगायतले ज्ञानेन्द्रलाई भेटीसकेका छन्। भाजपासँग झुकाव राख्ने महामण्डलेश्वर कैलाशानन्द गिरीले नेपालमा राजतन्त्रको सान्दर्भिकता बाँकी रहेको प्रतिक्रिया दिएका छन् जसको प्रभाव उच्चस्तरीय राजनीतिक भेटमा पर्न सक्ने अनुमान लगाइएको छ। तथापी नेपालमा राजतन्त्र स्थापनाका लागि सजिलो भने नरहेको भारतीय कुटनीतिक जानकारको दाबी रहेको छ। ‘नेपालमा राजसंस्थाको स्थापना गर्नका निम्ति भारतीय सद्भावको एउटा विषय होला तर यसै गराउन सक्छ भन्ने छैन। यद्यपि, कुटनीतिक रुपमा आन्तरिक तबरले नेपाली दललाई दबाब दिन सक्नेछ,’ उच्च स्रोतले भन्यो।

भारतका कतिपय अधिकारीले ज्ञानेन्द्रलाई सांस्कृतिक राजाका रुपमा बस्न सके हिन्दू राज्यका लागि जनमत संग्रहको अवस्था आउन सक्ने सन्देश दिएका थिए। तर, ज्ञानेन्द्र सांस्कृतिक रुपमा रहने मुडमा भने छैनन्।

हिमानीलाई अघि सार्न प्रस्ताव

यसैबीच, पूर्वयुवराज्ञी हिमानी शाहलाई अघि बढाउनका लागि भारतीय संस्थापनका केही अधिकारीले प्रस्ताव गरिसकेको बताइन्छ। हिमानीको नेतृत्वमा कुनै राजनीतिक दल स्थापना गरी हिन्दू अधिराज्यको आवाजलाई बलियो बनाउनका लागि प्रस्ताव भएको दाबी गरिएको हो।

‘विप्लवदेखि राजासम्म अटाउने राजनीतिक आवाज अहिले नेपालमा बढ्नुको अर्थ राजालाई पनि राजनीतिमा आउनका लागि सुझाव दिइएको हिसाबले बुझ्नुपर्छ’, उत्तराखण्डस्थित एक अधिकारी भन्छन्,‘यही विषयको चर्चा र परिचर्चा यहाँ पनि भएको थियो।’

नेपालमा राजसंस्था स्थापनाका लागि अहिले रहेको संविधान नै डिरेल गरेर अघि बढ्नुपर्ने अवस्था रहेको र त्यो हुँदा नेपालमा अशान्ति र भारतविरोधी गतिविधि तत्काल बढ्ने भएकाले राजनीतिक रुपमा नै अघि बढ्न ज्ञानेन्द्रलाई सुझाव दिएको बताइन्छ।

त्यसो त नेपालको चाहना र नेपालीको रक्षाका लागि भारतीय संस्थापन सदैब सक्रिय रहेको सन्देश त्यहाँका गृहमन्त्री शाहले एउटा सार्वजनिक मञ्चबाट नै घोषणा गरेका थिए। ‘शाहको यो घोषणा पनि अर्थपूर्ण रहेको छ’, उच्च स्रोतले भन्यो।

भारतमा कांग्रेस आईको सत्ता गिरेपछि कूटनीतिक मामलामा केही संशोधन र छिमेक नीतिमा परिवर्तनमात्र नभई आन्तरिक राजनीतिमा अझ प्रभावकारी भएर उभिने भाजपाको चाहना रहेको छ। योसँगै नेपालमा हिन्दूत्वको प्रभावका लागि राजालाई कुनै न कुनै स्पेश आवश्यक रहेको पनि भारतीय बुझाई छ।

यद्यपि ज्ञानेन्द्रलाई तत्काल राजाकै रुपमा फर्काउन भने कठिन हुन सक्ने उसको अनुमान छ। तर भाजपा समर्थित हिन्दूवादी कतिपय संस्थाले भने नेपालमा राजतन्त्रको पक्षमा भइरहेका नारा जुलुस र प्रदर्शनलाई सहयोग गर्न सकिने सन्देश पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट