काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरिएको छ ।
सत्ता साझेदार राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने र अविश्वास प्रस्तावमा समर्थन गर्ने निर्णय गरेसँगै कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आज वा भोलि शुक्रबार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेका हुन् ।
कांग्रेस वार्ता टोलीका संयोजक सांसद कुमार खड्काले सांसदलाई बोलाइएको बताए । बिहीबार वा शुक्रबार मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने गरी छलफल चलाइएको उनले बताए ।
प्रदेशसभाका कुल सांसदमध्ये एक चौथाइ अर्थात् १५ जनाले हस्ताक्षर गरेपछि अविश्वास प्रस्ताव दर्ता हुन्छ । ६० सदस्यीय प्रदेशसभामा तीन जना राजमोका छन् ।
गण्डकीमा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राजमोका ३ र जसपाका २ सांसद छन् । स्वतन्त्रबाट जितेर नेकपा प्रवेश गरेका राजीव गुरुङले अहिलेकै सरकारलाई समर्थन गरिरहेका छन् ।