काठमाडौं- भक्तपुरको मध्यपुर थिमीको बोडेमा परम्परादेखि चल्दै आएको जिब्रो छेड्ने जात्रामा यस वर्ष पनि बुद्धकृष्ण श्रेष्ठले जिब्रो छेडाएका छन् ।
मध्यपुर थिमी ८ बोडेका श्रेष्ठले बिहीबार आठौँ पटक जिब्रो छेडाएका हुन् । यसअघि २०६२ देखि ०६५ सालसम्म लगातार चार वर्षसम्म जिब्रो छेडाएका श्रेष्ठले २०७४ सालदेखि लगातार जिब्रो छेडाउँदै आएका छन् ।
पेशाले एम्बुलेन्स चालक रहेका बुद्धकृष्णले अघिल्लो वर्ष कोरोनाको कारणले एम्बुलेन्स चलाउनुपरेकाले जिब्रो छेड्न पाएनन् । जिब्रो छेड्नकै लागि तीन दिनदेखि उनी भोकै बसेका थिए ।
जिब्रो छेड्नकै लागि करिब एक फिट लामो सियोलाई एक महिनादेखि तेलमा डुबाएर राखिएको थियो ।
जिब्रो छेड्नुअघि कर्मी नाइकेले सम्पूर्ण देवीदेवताको प्रार्थना गर्ने परम्परा छ । विशेष पहिरन र खुट्टामा तान्त्रिक घन्टी लगाएर जिब्रो छेड्नुअघि शक्ति पिठहरुको दर्शन गर्ने र जिब्रो छेडिसकेपछि पनि चन्द्राकार बत्ती बोकी बोडे नगर परिक्रमा गरियो ।
दैवी शक्तिलाई आधार मानेर प्राचीनकालदेखि नै मनाइँदै आएको बोडेको सिङ्गो ऐतिहासिक, धार्मिक र संस्कृतिसँग सम्बन्धित यो जात्रा नीलबाराही देवगणसँग सम्बन्धित रहेको छ ।