काठमाडौं- तेस्रो सैनिक आचार संहिता सप्ताह आजबाट सुरु भएको छ । सैनिक मुख्यालयमा बिहीबारबाट सुरु भएको आचार संहिता सप्ताह वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ ।
सैनिक अनुशासन र आचरण सहितको सैनिक चरित्रको विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।
बलाधिकृत रथी प्रभुराम शर्माले आज आयोजित एक विशेष समारोहबीच उक्त कार्यक्रमको शुभारम्भ गर्दै गौरवशाली इतिहास बोकेको सेनाले आफ्नो स्थापनाकालदेखि नै वीरता, वफादारिता र पेशागत दक्षतालाई अक्षुण्ण राखेको बताए ।
उनले भने, ‘सेना जनताको विश्वासको केन्द्रविन्दु बन्न सफल भएको छ, यसको श्रेय अनवरत निश्वार्थ सेवा गर्ने भूतपूर्व तथा बहालवाला सच्चा सिपाही र समग्र संस्थालाई नै जान्छ ।’
सेनामा कार्यरत सकलदर्जाले आफू पदमा रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने व्यावहारिक आचरणका बारेमा सुसूचित गरी अनुशासित, आचरणयुक्त र जिम्मेवारपूर्ण सैनिक बनाउने उद्देश्यले सप्ताह आयोजना गरिएको हो ।
प्रत्येक जवानले स्वयंलाई नैतिकवान, चरित्रवान, पेशेवर र ऊर्जाशील बनाउन अपरिहार्य रहेको जनाउँदै बलाधिकृत शर्माले सकलदर्जाले आचरण मर्यादित र नैतिकवान बनाउन प्रेरणा मिल्ने धारणा व्यक्त गरे ।
उक्त सप्ताह यही वैशाख ९ गतेसम्म चल्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
मानवीय आचरण र मूल्य मान्यता सम्बन्धमा स्वामी पुरुषोत्तमले अभिप्रेरणात्मक प्रवचन भएको उक्त कार्यक्रम शुभारम्भका अवसरमा सैनिक आचार संहितासम्बन्धी डकुमेन्ट्री प्रदर्शन गरिएको थियो ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनमा विधि र पद्धति स्थापित गर्ने हेतुले प्रत्येक वर्ष यस खाले कार्यक्रम गर्ने सोचका साथ तीन वर्षअघि उक्त कार्यक्रमको थालनी गरेका हुन् ।