झापा- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता माधव नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले झुटको खेती गरी भ्रम सिर्जना गरेको आरोप लगाएका छन् ।
उनले अब पार्टीमा नयाँ पुस्तालाई आकर्षित गर्न सत्यतथ्य र विधिमा आधारित राजनीतिक प्रशिक्षण दिन जरुरी भएको धारणा व्यक्त गरे ।
बिर्तामोडमा आज जिल्ला कमिटी गठन गर्न आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अध्यक्ष ओलीले निष्काशन गरेका र नसमेटेकालाई बटुलेर आफूले ७५ वटै जिल्लामा कमिटी बनाउन बाध्य भएको जिकिर गरे ।
झापामा समानान्तर कमिटी गठन
माधव नेपाल समूहले आज बिर्तामोडमा कार्यकर्ता भेला गरेर वेदराज रेग्मीको अध्यक्षतामा ३५१ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरेको छ ।
समितिको उपाध्यक्षमा चन्द्रा श्रेष्ठ, सचिवमा निलमणि बराल, सहसचिवमा मणि भण्डारीलाई चयन गरिएको छ ।