हुरीबतासले ५० घरमा क्षति-Sutra News

हुरीबतासले ५० घरमा क्षति

शनिबार, ४ बैशाख २०७८

शनिबार, ४ बैशाख २०७८

धादिङ- धादिङमा हुरीबतासले ५० घरको छाना उडाएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको रेडक्रसले जनाएको हो ।



गएराति पानीसँगै आएको हुरीबतासले घर गोठ उडाएको छ भने तरकारी बालीसमेत हुरीका कारण क्षति पुगेको अनुगमनका क्रममा देखिएको छ ।

रातिको समयमा आएको भीषण हुरीबतासका कारण बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ६ र ७ मा १० घरको जस्ताको छाना, गजुरी गाउँपालिका-२ मा १२ घर टेण्ट, नीलकण्ठ नगरपालिका खाल्टेको दुई घर जस्ता, ज्यामरुङको चार घर जस्ता र गल्छी गाउँपालिका-५मा १३ घरको जस्ता उडाएको नेपाल रेडक्रस सोसाइटी सभापति नारायण तिमल्सिनाले जानकारी दिए ।

गल्छी गाउँपालिका-५ का वडाध्यक्ष प्रेम तामाङले सबै सूचना नआइसकेको र आफू गाउँमै सूचना सङ्कलनमा लागिरहेको जानकारी दिए ।

हुरीबतासका कारण जिल्लाका अन्य क्षतिको विवरण आइनसकेको र विवरण आउने क्रम जारी रहेको रेडक्रसले जनाएको छ ।

बेनिघाटरोराङ गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराईले हुरीबतासबाट घर उडाएको चौकी टोलको निरीक्षण गरी पालिकाभरिमा क्षतिको विवरण संकलन गर्नका लागि सुरुवात गरिएको बताए ।

पालिकाले आवश्यकताका आधारमा राहत वितरण गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट