काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीसहित प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका नेता महन्थ ठाकुर लगायत सहभागी छन् ।
तर नेकपा माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्ष बैठकमा सहभागी छैन ।
बैठकको निम्तो नआएको भन्दै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तथा एमाले नेता नेपाल सहभागी नभएका हुन् ।
प्रचण्डलाई सर्वदलीय बैठकको निम्तो नै नआएको प्रचण्ड सचिवालय स्रोले जनाएको छ ।
यस्तै नेकपा एमालेका नेता माधव नेपाल पनि बैठकमा सहभागी भएका छैनन् ।
पछिल्लो राजनीतिक परिवेश, बढ्दै गएको कोरोना भाइरसको महामारीसहितका विषयमा छलफल गर्नका लागि बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई बैठकमा बोलाइएको छ ।
कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गर्न सकिने प्रयास तथा राजनीतिक गतिरोध अन्त्यबारे छलफल हुने जनाइएको छ ।