काठमाडौं- कर्णाली प्रदेश सभामा पार्टीको ह्विपविपरीत एमालेका चार सांसदले माओावदी केन्द्रका मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले कडा प्रतिक्रिया दिएका छन् ।
पार्टीको निर्देशनविपरीत ‘फ्लोर–क्रस’ गर्दै ओली पक्षकै १ र माधव नेपाल पक्षका ३ गरी एमालेका ४ जना प्रदेश सांसदले शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा मतदान गरी सरकार जोगाइदिएका हुन् ।
यसै क्रममा प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि कडा आलोचना गरेका छन् । कर्णालीमा भएको ‘फ्लोर–क्रस’ माओवादी केन्द्रमा विलय हुन आतुर एमालेभित्रका एमालेविरोधीहरूको सार्वजनिक उद्घोष भएको उनको टिप्पणी छ ।
‘कर्णाली प्रदेशको ‘फ्लोर–क्रस’ फ्लोर–क्रस मात्र हैन, माओवादी केन्द्रमा विलय हुन आतुर एमालेभित्र रहेका एमालेविरोधीहरूको सार्वजनिक उद्घोष हो,’ सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ।
उनले थप भनेका छन्, ‘एमाले समाप्त पार्न ‘एकता–विधि–पद्धति’को नाममा क्रियाशील तत्त्व,
के कस्तो षड्यन्त्रमा संलग्न छ भन्ने बुझ्न र त्यसबाट भ्रममुक्त हुन यो घटना पर्याप्त छैन र ?’